खेलकुद

फोफोनाको ह्याट्रिकमा संकटा क्लब बिजयी

युवराज आचार्य
झापा, बैशाख १४ ।
जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत शनिबार भएको खेलमा सिएमजी संकटा क्लब विजयी भएको छ ।

काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर लाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै सिएमजी संकटा सेमीफाईनलमा प्रवेश गरेको छ।

संकटा क्लबका तर्फबाट खेलको २२ औं मिनेटमा बिदेशी खेलाडी फोफोना फोडेले गोल गर्दै टीमलाई अग्रता दिलाए । २९ औं मिनेटमा फोडेले नै गोल गर्दै टीमको अग्रता दोब्बर बनाए । अर्का बिदेशी खेलाडी इकेन क्रिश्टियनको क्रस पासमा हेड मार्फत गरेको प्रहारले जाली चुमेको थियो ।
खेलको ४४ औं मिनेटमा फोडेले गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । ५५ औ मिनेटमा क्रिश्टियनले गोल गर्दै संकटा क्लब आयोजक माथी अझ सशक्त बनेको थियो । आयोजकको तर्फबाट खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले डि बक्स नजिकैबाट गरेको फ्रि किक गोल भएको थियो । निशान्त लिम्बुलाई संकटाका खेलाडीले फल गरेपछि पाएको फ्रि किक मार्फत मगरले सान्त्वना गोल फर्काएका हुन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेका संकटा क्लबका फोफोना फोडे म्यान अफ दि म्याच घोषित भए । उनले नगद एघार हजार रुपैयाँ प्राप्त गरे ।

१० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजार नगद पाउनेछ । त्यस्तै, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्डर्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउने छन् । आईतबार ९भोली० हुने दोस्रो क्वाटरफाईनल खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब सुनसरी बीच दिनको ४ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published.