खेलकुद

पाञ्चायन फुटबल क्लब सेमीफाइनलमा प्रवेश

झापा, जेष्ठ २२ । प्रथम बिर्तामोड गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन भएको क्वाटरफाईनल खेलमा पाञ्चायन फुटबल क्लबले पाँचथरको स्वतन्त्र फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफको ३६ औँ मिनेटमा पाँचथरको स्वतन्त्र एफसीका तर्फबाट राजन माझीले गोल गर्दै टिमलाई अग्रता कायम गराएका थिए । ३९ औं मिनेटमा सुनसुरीको पाञ्चायनका लागि कप्तान तीर्थ बस्नेतले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
पाञ्चायनका तर्फबाट दोस्रो हाफको १६औँ मिनेटमा अजित चौधरी, २१औँ मिनेटमा अनिश राजधामी र २४ औँ मिनेटमा कप्तान तीर्थ बस्नेतको प्रहारले जाली चुमेको थियो । दोस्रो हाफको ४५ औँ मिनेटमा पाँचथरले पाएको पेनाल्टीमा आरके कन्दङवाले गोल गोल गर्दै टिमलाई लयमा ल्याउने प्रयास गरेका थिए ।
तर, त्यसको एक मिनेटमै सुनसरीका कप्तान तीर्थ बस्नेतले गोल गर्दै टिमलाई ५–२ गोल अन्तरले बिजयी बनाउन सफल भए । बिजेता टिमका कप्तान तीर्थ बस्नेत खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष भेषराज भण्डारी (प्रशान्त ) ले नगद तीन हजार रुपैयाँ प्रदान गरे ।
रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५० हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने छ । भोलिको खेल मुनाल एफसी चन्द्रगढीविरुद्ध पूर्वेली युथ क्लब बिर्तामोडबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published.