झापा, पुष ६ । वडा खेलकुद सिमिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १ विजयी भएको छ ।
मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा आईतबार भएको खेलमा वडा नम्बर १ ले वडा नम्बर १४ लाई ६–१ गोलको फराकीलो अन्तरले पराजित गरेको छ ।

वडा नम्बर १ को जितमा नितेश राई र युजेन लामाले दुइ दुई गोल तथा कुमार मगर र प्रवेश तामाङले एक एक गोल गरे । वडा नम्बर १४ को तर्फबाट करण बोहोराले एक गोल गरे ।
खेलको म्यान अफ दी म्याच वडा नम्बर १ का प्रवेश तामाङ घोषित भए । उनलाई वडा खेलकुद सिमिति मेचीनगर– ८ का सदस्य रविन ओझाले ट्रफी प्रदान गरे ।
मेचीनगरका १५ वटा वडा खेलकुद समितिले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको सह आयोजकमा आदर्श धिमाल समाज र सेन्ट्री युवा क्लव रहेका छन् । पुष १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेता टिमले २६ हजार रुपैयाँ नगदराशी सहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सोमबारको खेल वडा नम्बर २ र वडा नम्बर ११ बिच दिनको ३ बजे देखि हुने आयोजक समितिका सदस्य बिकास देवकोटाले जानकारी दिए ।

