काठमाडौं, माघ २२ । विश्वकप लिग २ अन्तर्गतको पहिलो खेलमा नेपाल ओमानसंग पराजीत भएको छ । ओमानले नेपाललाई १८ रनले हराएको हो । ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १ सय ७९ रनमै अलआउट भएपछि हार स्वीकार्न बाध्य भयो ।
यसअघि नेपालले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको थियो । निर्धारित ५० ओभरमा ओमानले आठ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।
ओमानका लागि मोहम्मद नदिमले सर्वाधिक ५५ रन बनाए । ४ चौका र ३ छक्का प्रहार गरेका उनको प्रदर्शनकै बलमा ओमानले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । यस्तै ओमान सन्दीप गाउदले ३३, नसिम खुशीले २८ र कप्तान जिशन मक्सुदले २० रन बनाए ।
बलिङतर्फ नेपालका करन केसी र सुसन भारीले अब्बल प्रदर्शन गरे । सुरुवात देखि नै विकेट लिएका करन केसीले ४ विकेट लिए । करनले पहिलो ओभरको अन्तिम बलमा ओमानी ओपनर जतिन्दर सिंहले बोल्ड गर्दै विकेटको खाता खोलेका थिए । यस्तै सुसन भारीले खेलको १९ औं ओभरमा दुई विकेटसहित कुल तीन विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले १ विकेट र १ रनआउट पारे ।
जवाफी ब्याटिङ गरेको नेपालले खराब सुरुआत गर्यो । दुबै ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ल सस्तैमा आउट भएपछि सुरु देखि नेपाल दबाबमा आएको थियो । टोलीको स्कोर ४ रन मात्र हुँदा ती दुबै ब्याटसम्यान आउट भए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावकर र चौथो नम्बरमा आएका दिपेन्द्र सिंह ऐरीले सम्हालिँदै ६२ रनको साझेदारी गरे ।
दिपेन्द्र आउट भएपनि शरदले विनोद भण्डारी र सन्दीप लामिछानेसँग साझेदारी गर्दै टोलीको सम्भावना बाँकी राखेका थिऐ । सन्दीप र शरदले ५१ रनको साझेदारी गरे । तर शरद आउट हुनासाथ नेपाली टोली धेरै टिक्न सकेन । नेपालको लागि शरदले १ सय ८ बलमा सर्वाधिक ५५ रन बनाए । उनले सो क्रममा पाँच चौका प्रहार गरे । यस्तै दिपेन्द्रले ३६, सन्दीपले २८ र विनोद भण्डारीले २६ रन बनाए।
बलिङतर्फ ओमान जिशन मक्सुदले ३ विकेट लिए भने कलिमुल्लाहले २ विकेट लिए । यस्तै मोहम्मद नदिम, खवार अली, अकिब इलियास र बिलाल खानले समान १ विकेट लिए । उत्कृष्ट ब्याटिङ गरेका ओमानका नदिम प्लेयर अफ द म्याच चुनिए ।
लिग अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकाको सामना गर्ने छ । नेपाल र अमेरिकाले शनिबार बिहान १० बजे खेल्ने तालिका छ ।

