झापा, फागुन २५ । पूर्वोत्तर झापाको १५ शय्याकाे आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारले ९८ लाख र मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँ अनुदान दिएपछि स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पद्मा खनालले दिएकाे जग्गामा सो अस्पताल निर्माण भएको थियो ।
आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको
त्रिपक्षीय सम्झौताअनुसार विसं २०६५ मङ्सिर २० गते सञ्चालनमा आएको थियो ।
सम्झौतामा तीनवटै निकायकोे सहमतिमा अस्पताल सञ्चालन गर्ने भनिएको थियो । तर
केही वर्ष नबित्दै समुदाय र सम्झौताका पक्षहरुको बेवास्ताले अस्पताल आफैँ
बिरामीजस्तो भएको छ । स्थापनाकालमा मेचीनगर नगरपालिकाको काँकडभिट्टा,
धुलावारी, ज्यामिरगढी, दुहागढी, बाहुनडाँगी र धाइजन, बुद्धशान्ति
गाउँपालिकाको बुधबारे र शान्तिनगर तथा इलामको रोङ गाउँपालिकाका दुई लाख
जनसङ्ख्यालाई भरपर्दो स्वाथ्योपचार सेवा पुर्याउने यो अस्पतालको लक्ष्य
थियो ।
साझेदारमध्येको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले स्थानीय
सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको बताउँछन् । “सहयोग कटौती
हुँदै गयो, त्यसैकारण अस्पतालले जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणसहितको
सेवा पुर्याउन नसकेको हो”, उनी भन्छन्, “भवन, जग्गालगायतको पर्याप्त भौतिक
संरचना भएको हुँदा यसलाई फेरि व्यवस्थित गर्ने योजना अघि बढिरहेको छ ।”
स्थानीय सरकारको भूमिकामा रहेको मेचीनगर नगरपालिकाले अस्पताललाई वार्षिक अनुदान दिन कञ्जुस्याइँ गरेको उनको आरोप छ । मठमन्दिर, सभाहलका नाममा करोडौँ बजेट दिने नगरपालिकाले नगरको गौरवको रुपमा रहेको यो अस्पताल सञ्चालनका लागि वर्षेनी करोडभन्दा बढी अनुदान दिनुपर्ने अध्यक्ष तिम्सिना बताउँछन् ।
अस्पतालका प्रशासन सहायक प्रमुख उज्ज्वलतारा थापाले स्वास्थ्य जाँचका आधुनिक उपकरण र प्रयोगशालाका सामग्री नभएका कारण विरामी आउन छाडेको जानकारी दिए । केही समयदेखि एक मेडिकल अफिसरसहित तीन स्वास्थ्यकर्मीले अस्पताल धानिरहेको र विगतमा आफैँले सञ्चालन गर्दै आएको फार्मेसी हाल निजी क्षेत्रलाई दिइएको उनकाे भनाइ छ । दाताबाट प्राप्त अस्पतालको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर थन्किएको छ । मर्मत गरेर पनि नचल्ने स्थिति भएको हुँदा कवाडीको मूल्यमा बेच्नुपर्ने अवस्था आएको प्रशासन सहायक प्रमुख थापाकाे भनाइ छ ।
अस्पतालले आव २०७२/७३ मा एक हजार १७०, २०७३/७४ मा एक हजार ८६३, २०७४/७५ मा ७१८, २०७५/७६ मा एक हजार ८६५ र चालू आव २०७६/७७ को माघ मसान्तसम्ममा दुई हजारभन्दा बढीलाई सेवा प्रदान गरेको छ । अस्पताल सञ्चालक समितिका अध्यक्षसमेत रहेका मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य आम्दा नेपाल पक्षले स्वामित्व हस्तान्तरण गरेमा नगरपालिका सम्पूर्ण व्ययभार बहन गरेर अस्पताल चलाउन तयार रहेको दावी गर्छन् ।
उनले रुग्ण अवस्थाको मेची आम्दालाई चलायमान बनाउन स्वास्थ्य बीमा कार्यक्रम लागू गरेर अघि बढ्न सकिने विकल्प रहेको जनाउँदै नगरपालिकाको नाममा स्वामित्व हस्तान्तरण भएमा प्रदेश र सङ्घीय सरकारसँग अनुदान मागेर अस्पताल सञ्चालन गर्ने आफ्नो सोच रहेको जानकारी दिए । मेचीनगर–१० धुलाबारीमा फराकिलो परिसरमा रहेको सो अस्पतालमा दुईतलाको भव्य भवन रहेको छ । इमर्जेन्सी, ओपिडी, गाइनो, सर्जरीलगायतका विभिन्न छुट्टै वार्डहरु भएका कारण अस्पताललाई पुनःसञ्चालन गराउन भौतिक पूर्वाधार पर्याप्त हुन्छ । हाल पहिलो तलामा सबै वार्डहरु रहेको र माथ्लो तला पूरै खाली रहेको पाइएको छ ।
स्थानीय सरकार र सरोकारवाला पक्षहरुले चरम बेवास्ता गरेर अस्पताल बन्द हुने अवस्थामा पुर्याएको भन्दै दाता परिवारले चिन्ता प्रकट गरेका छन् । दाता परिवारका सदस्य लीला खनालले राम्रो अस्पताल बन्ने र लाखौँ झापावासीले स्तरीय उपचार पाउने विश्वासका साथ दाताले करोडौँ मूल्य पर्ने जग्गा दानमा दिएको स्मरण गराउँदै अहिले बेवारिसे अवस्थामा पुर्याएको देख्दा दुःख लागेको बताउँछन्। उनी प्रदेश र सङ्घीय सरकारको समेत यसमा ध्यान जानुपर्ने बताउँछन् । रासस

