खेलकुद

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका हरिशलाई

झापा, फागुन २४। नाइट चेस क्लबको आयोजनामा आयोजित पीवी थापा स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २०९५ रेटेड खेलाडी हरिश शर्माले हात पारेका छन् ।

नवौँ चरणसम्म भएको खेलमा ८ जीत र एक बराबरी खेलेर हरिशले ८।५ अंकसहित उपाधि हात पारेका हुन् । उनले नगद ६० हजारसहित ट्रफी हात पारे ।

फाइनल चरणको खेलमा हरिशले भारतकै राकेश गुरुङसँग बराबरी खेलेका थिए । आठौँ चरणसम्मको खेलमा जीत हात पारेका हरिशलाई नवौँ चरणको खेलमा हराउन राकेशले निकै प्रयास गरेका थिए ।

सेतो गोटी लिएर राकेशले खेलको ४८औँ चालमा घोडा फाइदा गरे । जसले गर्दा हरिश दबाबमा परेका थिए । दबाबमा परे पनि संयमित खेलेका हरिशले आक्रामक खेलेका राकेशको हरेक चाललाई विफल पार्दै लगे र ७७औँ चालमा राकेशलाई हात्ती बलिदान गर्न बाध्य बनाए । अन्ततः ८०औँ चालमा खेल बराबरीमा रोके ।

भारतीय खेलाडीहरुको वर्चश्व रहेको प्रतियोगितामा भारतकै रिशव निशाद र राकेश गुरुङ दोस्रो र तेस्रो भए । रिशवले नवौँ चरणको खेलमा भारतकै कुमार गौरवसँग बराबरी खेलेका थिए । दुवैको समान ७।५ अंक भएता पनि बुकोहम टाइब्रेकरको आधारमा रिवले दोस्रो स्थान हात पारेका हुन् । रिशवले ४० हजार पाउँदा राकेशले २५ हजार नगद हात पारे ।

नेपालका कृष्ण थापा चौथो स्थान हात पार्दै उनले १८ हजार पुरस्कार पाए । त्यस्तै, भारतका किरण साइ, कुमार गौरव, राघव श्रीवास्तव, प्रशान्त करिया क्रमशः पाँचौ, छैटौँ, सातौँ र आठौँ स्थानमा रहे भने नेपालका सुमन राई नवौँ र भारतका सम्भ्रांत गोयल दशौँ स्थानमा रहे ।

बिसौँ स्थानसम्मका खेलाडीलाई आयोजकले नगद पुरस्कारको व्यवस्था गरेको प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार भेट्रानतर्फ उत्कृष्ट ठहरिए । महिलातर्फ भारतका स्नेहा हल्डेर प्रथम भइन् । झापाका सुमन श्रेष्ठले प्रदेशतर्फ पहिलो स्थान हात पर्दा राजन सुवेदी झापा जिल्ला उत्कृष्ट ठहरिए ।

नाइट चेस क्लब काँकरभिट्टाका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण समारोहमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिन् ।

फागुन २० गतेदेखि सुरु प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका १३२ जना खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा सबैभन्दा बढी ८० वर्षका राजिस्थानका आरके गुप्ताले पनि प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.