खेलकुद

माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्रलाई

नरेन इलामेली
इलाम, फागुन २४ ।
छैटौँ संस्करणको अन्तरष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लब काठमाण्डौले हात पारेको छ । शनिवार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न उपाधि भिडन्तमा आयोजक माइभ्याली क्लब इलामलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि हात पारेको हो ।

खेलको इन्जुरी समयमा मच्छिन्द्र क्ल्बका एन्ड्रेस नियाले गोल गर्दै टीमलाई उपाधि दिलाए । खेलमा दुवै टीमले थुप्रै राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । खेल बर्षाले प्रभावित भए पनि फूटबललाई संस्कार झैँ मान्ने इलामेली दर्शकहरुको उपस्थिति भने उत्साहजनक रहेको थियो । खेलको म्यान अफ दी म्याच मच्छिन्द्र क्ल्बका एन्ड्रेस निया घोषित हुँदे नगद १५ हजार पा्रप्त गरे ।

मच्छिन्द्र सेमिफाइनलमा भारतीय टोली एमएफसी दार्जिलिङ्गलाई गोल ३—० अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने आयोजक माइभ्याली फूटबल क्लब त्रिभूवन आर्मी क्लब काडमाण्डौलाई सडेन डेथमा पराजित गर्दै उपाधि भिडन्तका लागि मच्छिन्द्रसँगको भेट पक्का गरेको थियो ।

उपाधिसँगै मच्छिन्द्रले नगद ८ लाख हात पारेको छ भने उपविजेता माइभ्यालीले नगद ५ लाख मै चित्त बुझाउनु पर्यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक माइभयाली फूटबल क्लब इलामका शरण बस्नेत घोषित हँदै नगद १ लााख १५ हजार हात पारे । उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटुवाल, उत्कृष्ट डिफेण्डर माइभ्यालीका छिरिङ गुरुङ, उत्कृष्ट गोलकिपर माइभ्यालीका देव लिम्बू, उत्कृष्ट मिडफिल्डर मच्छिनद्रका योगेश गुरुङ, उत्कृष्ट फरवार्ड मच्छिन्द्रका एन्ड्रेस निया घोषित हुँदेै जनही २५ हजार रुपैँया प्राप्त गरे ।

गत फागुन १५ बाट संचालन भएको पूर्वी पहाड कै सर्वाधिक धन राशी भएको यस प्रतियोगितामा भारतीय टीमहरु नागाल्याणको कोहिमा इगल फूटबल क्लब, दार्जिलिङ्गको एमएफसी, सिक्किमको ग्यान्टोक सिटी फूटबल क्लब, कोलकत्ताको मोहम्मडन स्पोर्टिङ्ग क्लब सहित नेपाली टीमहरु रुपन्देहीको गोर्खा ब्वाइज फूटबल क्लब, काठमाण्डौको मच्छिन्द्र क्ल्ब, त्रिभूवन आर्मी क्ल्ब काठमाण्डौ, संकटा क्लब काठमाण्डौ, झापाको झापा ११ र आयोजक इलामको माइभ्याली फूटबल क्लबको सहभागिता रहको थियो ।

Leave a Reply

Your email address will not be published.