खेलकुद

किन असफल भयो ‘पूर्वाञ्चल गोल्डकप’ ?

झापा, चैत ११ । झापाको डोमालाल राजवंशी रंगशालामा गत कार्तिकमा ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । बिर्तामोडको जायोन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगिता सम्पन्न भएपनि सफल भने हुन सकेन । बिजेता, उपबिजेता, रेफ्रिलगायतले प्रतियोगिताबाट अहिलेसम्म पुरस्कार राशी र पारिश्रमीक नपाएपछि विवादित बन्दै गएको छ ।

प्रतियोगिता सकिएको ४ महिना बित्दा समेत बिजेता विभागीय टोली त्रिभूवन आर्मी क्लव र उपविजेता बनेको चर्च ब्वाइजले पुरस्कार राशी पाएका छैनन् । घोषणा गरिएअनुसार आर्मीले १२ लाख ५० हजार र चर्चले ६ लाख २५ हजार रुपैयाँ पाउनुपर्ने हो । तर, पुरस्कार बापतको रकम नपाएको भन्दै आर्मीले अखिल नेपाल फुटवल संघ (एन्फा) मा उजुरी दिएको छ । लगत्तै एन्फाले झापा जिल्ला फुटवल संघलाई पत्राचार गरेर पुरस्कारबापतको रकम भुक्तानी गराउन निर्देशन दिएको छ । ‘पुरस्कार राशीको रकम अहिलेसम्म पाएनौँ’ आर्मीका प्रशिक्षक चुनबहादुर थापाले भने, ‘त्यो पाउन हामी प्रक्रियामा गइसकेका छौँ, चैतभित्रमा दिने भन्नुभएको छ ।’

रेफ्रीले समेत पाएनन् पारिश्रमिक

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा निर्णायकको भुमिका निर्वाह गरेका रेफ्रीले समेत पारिश्रमिक पाएका छैनन् ।

गत कात्तिक महिनामा सञ्चालित गोल्डकपका आयोजकले हालसम्म पारिश्रमिक नदिएको रेफ्री संघ झापाका अध्यक्ष प्रदिपकुमार बस्नेतले जानकारी दिए । उनीहरुसँगै काम गरेका मोरङ र काठमाडौंका १ र १ जना रेफ्रीलाई तत्कालै पारिश्रमिक दिए पनि झापाका ४ जनाले नपाएको उनले बताए ।

झापाका प्रदिप बस्नेत, प्रकाशनाथ काफ्ले, लक्ष्मण जैसवाल र श्याम दनुवारले पारिश्रमिक पाएका छैनन् । उनका अनुसार नेट लगायतका सामाग्री समेत खरिद गरेर प्रयोग गरेको भएपनि पाउन पर्ने जनही ३० हजार पारिश्रमिक पाएका छैनन् । ‘हालसम्म आयोजकले पारिश्रमिक दिने छाँटकाट छैन’ उनले भने, ‘आयोजकका मणि राईसँग पारिश्रमिकको कुरा गर्दा आफु आधिकारिक नभएको बताउँछन् ।’

उनले रेफ्रीलाई जिल्ला फुटबल संघले प्रतियोगिता खेलाउन भनेकाले आयोजक भन्दा पनि संघले जिम्मेवारी लिनुपर्ने बताए ।

असफल हुनुमा कसको दोष ?

सुरुमा गोल्डकप दशैँको अवसर पारेर असोज ११ देखि १८ गतेसम्म गर्ने गरि खेलतालिका सार्वजनिक गरिएको थियो । यद्धपी भारी बर्षाका कारण खेलमैदान बिग्रीएपछि प्रतियोगितालाई स्थगित गरियो । पुनः आयोजकले पत्रकार सम्मेलन गरेर कार्तिक २ देखि ९ गते सम्म प्रतियोगिता गर्ने मिती तय गरेको थियो । उक्त समयमा समेत आयोजकले प्रतियोगिता सञ्चालन गर्न नसकेपछि अर्को मिती तय ग¥यो, कार्तिक १६ गतेदेखि । कार्तिक २५ गते फाइनल खेल सम्पन्न भएको प्रतियोगितामा खेल तालिकामा उल्लेख गरेको सबै टिमहरु आएनन् । जसका कारण दर्शकको समेत उपस्थिती सोचेअनुरुप हुन सकेन ।

 त्यसपछि आयोजक प्रतियोगिता सञ्चालनकै दोरान हतोत्साहित भएको थियो । ‘हामीले त बिचमा नै प्रतियोगिता रोक्ने विचार गरेका थियौँ’ आयोजकका एक सदस्यले भने, ‘राम्रो टिम ल्याउन नसकेपछि दर्शक पनि आएनन् ।’

प्रतियोगिता असफल हुनुमा आयोजक समितीकै पदाधिकारी एकअर्कोलाई दोष दिन्छन् । कतिपय पदाधिकारी तथा सदस्य जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ का कारण प्रतियोगिता असफल भएको दाबी गर्छन् ।

प्रतियोगिता असफल बन्नुको प्रमुख कारण पटकपटक प्रतियोगिता सर्नु र प्रतिष्ठित टोली नआउनु आयोजकको दाबी छ । ‘मनाङ, थ्रिस्टार जस्ता चर्चित क्लब नै आएनन्’ आयोजकका एक सदस्यले नाम नलेख्ने सर्तमा भने, ‘पहिला आउने भनेर हामीले टाईसिटमा पनि राख्यौँ पछि आएनन्, त्यही भएर हामीलाई कसैले पत्याएनन् ।’

उनका अनुसार सुरुवातमा मामाले झापा ११ लाई नखेलाउन आयोजकलाई पटक–पटक दबाब दिएका थिए । ‘हामीले झापा ११ भएन भने प्रतियोगिता नै गर्दैनौँ भन्यौँ’ उनले भने, ‘खेलाउने भएपछि पनि टाईसिटमा टिम राख्ने कुरामा उहाँले मनपरी गर्नुभयो ।’ यसको नैतिक जिम्मेवारी फुटबल संघले समेत लिनुपर्ने उनको तर्क छ ।

सो कुरालाई संघका अध्यक्ष भगिरथ आले ‘मामा’ ले ठाडैँ अस्विकार गरेका छन् । उनले प्रतियोगिता सर्नु र भनेअनुसारका ए डिभिजनका क्लबहरु नआउनुमा आफ्नो दोष नभएको बताउछन् । उनले प्रतियोगिताको नाफा–नोक्सानमा संघ भागीदार नहुने तर्क गरे । ‘फुटबल संघले पैसा दिने भन्ने कुरा आउँदैन’ उनले भने, ‘पुरस्कार राशी दिलाउन हामीले पहल गरिरहेका छौँ, आयोजकले त्यो रकम दिनुपर्छ ।’

आयोजक जायोन स्पोर्टस क्लबका अध्यक्ष भक्त खवास भने कसैलाई दोष दिनुभन्दा पनि अब आफुहरु बाँकी रकम दिर्ने पक्षमा रहेको बताए । ‘हामीले खाएर हिँडेका छैनौँ’ उनले भने, ‘बोलेका स्पोन्सरले पनि भनेको रकम दिएनन्, उठेको खण्डमा यो महिनाभित्र दिने छौँ ।’

Leave a Reply

Your email address will not be published.