झापा, चैत ११ । ज्यालादारी बन्द हुँदा तीन दिन देखि भोकै भएका एक विपन्न परिवारले खाद्यन्न पाएका छन् । ज्याला मजदुरी गरेर जेनतेन दुई छाक टार्दै आएका मेचीनगर ७ का राजवंशी परिवारलाई मेची अभियानले खाद्यन्न वितरण गरेको हो ।
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन एक साता रोक लगाउदै लकडाउन गरेको छ । दिनभरी ज्यालादारीमा काम गरेर छाक टार्ने ५ जनाको अति विपन्न राजवंशी परिवारलाई अहिले काम नहुदा घरको चुल्हो बाल्न समस्या भएको छ ।
उनिहरुको समस्यालाई हल गर्दै मंगलबार साझ राजवंशी परिवाको घरमा नै पुगेर मेची अभियानका संयोजक विजय डालमिया र नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले दश दिनलाई पुग्ने चामल, नुन, तेल, दाल, आलु, चाउचाउलगायतका खाद्यन्न प्रदान गरेका हुन् ।
ब्यापार व्यवसाय संगै सामाजिक कार्यमा अग्रसर रहेका संयोजक डालमियाले विपतको बेला समस्यामा परेका र अति विपन्न परिवारलाई मानवताको नाताले सबैले सकेको सहयोग गर्नु पर्ने बताए ।

