गोरखा, चैत २६ । सिरानचोक गाउँपालिका- २ उपल्लो पामका ४५ वर्षीय रामबहादुर गुरुङलाई गत माघ २ गेत छिमेकीको कुकुरले टोक्यो । चोट सामान्य भएकोले उनले वास्ता गरेनन् । तर, चैत्र १० गते हात दुख्ने र झमझमाउन थालेपछि झारफुक गरे ।
दुखाइ कम नभएपछि ११ गते आँपपिपल अस्पताल पुगेर चिकित्सकलाई सुनाए । तर, कुकुरले टोकेको जानकारी गराएनन् । दुखाइ कम गर्ने औषधि लिएर फर्किए ।
ब्यथा अझै बढेपछि परिवारले गुरुङलाई चैत्र १२ गते थालाजुङ स्वास्थ्य चौकी पुर्याए । केही दिनदेखि खाना नखाएको र कमजोरी भएको चिकित्सकलाई सुनाए ।सलाइन पानी चढाएर गुरुङलाई घर फर्काए । तर, १३ गते साँझ उनको निधन भयो ।
उनको मृत्युपछि गाउँपालिकाका स्वास्थ्य शाखा टोलीले परिवारजनसँग सोधपुछका क्रममा मात्रै कुकुरले टोकेको थाहा भयो ।
परिवारले भनेका लक्षण अनुसार गुरुङलाई रेबिज लागेको स्वास्थ्य शाखा टोलीले पत्ता लगायो । ‘चैत्र १३ गते साँझ उहाँ बित्नुभयो, त्यो दिन बिहान कुकुरले जस्तो आवाज निकाल्ने, यताउता दौडिने गर्नुभएको रहेछ,’ स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले भने, ‘त्यो रेविज रोगको लक्षण हो ।’ उनका अनुसार रेविज रोगको लक्षण मानिसमा एक महिनादेखि तीन महिनाभित्र देखिन्छ ।
उनलाइ मात्र होइन उक्त गाउँका थप दुई जनालाई कुकुरले टोकिसकेको छ । कलावती गुरुङ र हर्कबहादुर गुरुङलाई पनि कुकुरले टोकेको गाउँपालिकाले जनाएको छ ।
हर्क र रामबहादुरलाई टोकेको कुकुरलाई उनीहरु आफैले मारेर खोलामा फालिदिएका थिए । कलावतीलाई टोकेको कुकुर ५ दिनपछि आफै हरायो । ‘तीन जनालाई फरक(फरक कुकुरले टोकेको हो, दुई वटालाई मारेर खोलामा फालिदिएछन्, एउटा कुकुर पाँच दिनपछि आफैं हरायो, केहीले लग्यो की कतै मर्यो थाहा भएन,’ स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भने ।

