काठमाडौं, बैशाख २ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १५ गतेसम्म लकडाउनको समयावधि बढाउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ । सरकारले पछिल्लोपटक थप गरेको लकडाउन बुधबार सकिँदैछ ।
सरकारले पहिलोपल्ट चैत्र ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यपछि आठ दिन थपेर चैत २५ गतेसम्म कायम गरिएको थियो ।
उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरे पनि सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा सङ्क्रमित फेला पर्दै कोरोना नयाँ चरणमा प्रवेश गरेपछि सरकारले थप कडाइ गरेको थियो ।
लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तहजानसम्म निषेध गरेर लकडाउनलाई थप कसिलो बनाएको थियो ।
मंगलबारसम्म कोरोना सङ्क्रमितको संख्या १६ पुगेको छ । पछिल्लो ९ दिनसम्म नयाँ सङ्क्रमित फेला परेका थिएनन् । आइतबार एकैदिन ३ जना र सोमबार दुई जना र मंगलबार दुई जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
हालसम्म प्रदेश नम्बर २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित फेला परेका छन् ।

