काठमाडौं, बैशाख ९ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ७० हजार ३३७ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २४ लाख ७८ हजार ९४७ जना संक्रमित भएका छन् ।
विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ५ हजार ३०६ जनाको मृत्यु भएको छ । ७२ हजार ३७२ नयाँ संक्रमित थपिएका छन् ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा २४ घण्टामा थप १ हजार ९०८ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा मंगलबार विहान साढे ५ बजेसम्म कोरोना भाइरसले मृत्यु हुनेको संख्या ४२ हजार ४८३ पुगेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४४० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ९२ हजार ७६ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ७१ हजार ९४७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ७७ हजार ६४६ जनामध्ये १३ हजार ९४६ को अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २४ हजार नाघेको छ । सोमबार थप ४५४ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २४ हजार ११४ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार २५६ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८१ हजार २२८ पुगेको छ । इटालीमा संक्रमितमध्ये ४८ हजार ८७७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ८ हजार २३७ जनामध्ये २ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३९९ जनाको मृत्यु भएको छ भने १ हजार ५३६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८५२ पुगेको छ । मंगलबार विहान यो समाचार तयार पार्दासम्म २ लाख २१० जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८० हजार ५८७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९८ लाख ७७१ जना उपचाररत छन् ।
यस्तै फ्रान्समा २० हजार २६५ को मृत्यु भएको छ भने बेलायतमा कोरोनाले मृत्यु हुनेको संख्या १६ हजार ५०९ पुगेको छ । महामारीको सुरुवात भएको चीनमा भने आइतबारयता कसैको पनि मृत्यु भएको छैन । त्यहाँ ४ हजार ६३२ जनाको मृत्यु भइसकेको छ ।

