विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या १ लाख ७७ हजार नाघ्यो

काठमाडौं, बैशाख १० । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २५ लाख ५६ हजार ५१२ जना संक्रमित भएका छन् ।

विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ७ हजार ६२ जनाको मृत्यु भएको छ । ७५ हजार २४५ नयाँ संक्रमित थपिएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा बितेको २४ घण्टाको अवधिमा मात्रै २ हजार ८०४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार ३१८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार ९८५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख १८ हजार ७७४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ८२ हजार ९२३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ९० हजार ५०३ जनामध्ये १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ । मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७२९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८३ हजार ९५७ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ५१ हजार ६०० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ७०९ जनामध्ये २ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार २८२ पुगेको छ ।

त्यहाँ २ लाख ४ हजार १७८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८२ हजार ५१४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ३८२ जनामध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यस्तै फ्रान्समा २० हजार ७९६ जनाको मृत्यु भएको छ भने बेलायतमा १७ हजार ३३७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.