स्वास्थ्य

मेचीनगरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

मेचीनगर, असार २४ । झापाको मेचीनगरमा आज थप ५ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो संगै मेचीनगरमा संक्रमित हुनेको संख्या ४७ पुगेको छ ।

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्राप्त पीसीआर परीक्षणको नतिजामा मेचीनगरका ४ पुरुष र १ महिलामा कोरोनाको संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए ।

आज संक्रमण पुष्टि भएकाहरुमा कवि शिरोमणी माविको क्वारेन्टाइनमा रहेका वडा नं १० का १७ बर्षीय पुरुष, अतिथि सदन क्वारेन्टाइनमा रहेका वडा नं १४ का ३५ बर्षीय महिला, काँकरभिट्टा माविको क्वारेन्टाइनमा रहेका वडा नं १ र १५ का क्रमश ३५ र १५ बर्षीय पुरुष रहेका छन् ।

साथै वडा नं ६ को होटल क्वारेन्टाइनमा समेत वडा नं ८ का ३९ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । वडा नं ६ को होटल क्वारेन्टाइनमा संक्रमण पुष्टि भएपछि उक्त होटल सिल गरिएको वडा नं ६ का वडा अध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए ।

आज संक्रमण पुष्टि भएका मध्ये महिला संक्रमितलाई कोभिड आइसोलेशन सेन्टर गोठगाउँ लगिएको छ भने अन्य ४ जना पुरुष संक्रमितलाई धाईजन स्वास्थ्य चौकी भवनको आइसोलेटेड केन्द्रमा राखिएको समिति संयोजक बरालले जानकारी दिए ।

बरालमा अनुसार हाल धाईजन स्थित आइसोलेटेड केन्द्रमा ३ जना तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिइरहेको छ । संक्रमितहरुमा कुनै लक्षण वा स्वास्थ्य समस्या देखिएका तत्काल कोभिड उपचार केन्द्रमा रेफर गरिने ब्यवस्था मिलाइएको छ । आज मात्र थप १० जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्की सकेका छन् ।

Leave a Reply

Your email address will not be published.