काठमाडौँ, १२ साउन । युभेन्टसले लगातार नवौं पटक इटालियन सिरी ‘ए’को उपाधि जितेको छ । आइतबार राति साम्पोडोरियामाथि युभेन्टसको मैदान एलियान्ज स्टेडियममा भएको खेलमा २–० गोलको जित निकाल्दै युभेन्टसले दुई खेल अगावै सिरी ‘ए’को उपाधि जितेको छ । घरेलु टोलीलाई जिताउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नान्डेस्चीले समान एक–एक गोल गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा रोनाल्डोले मिरालेम पियानिकको पासमा गोल गर्दै पहिलो हाफभरि १–० गोलको अग्रता दिलाएका थिए । यस्तै खेलको ६७औं मिनेटमा बर्नान्डेस्चीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । रोनाल्डोले प्रहार गरेको बल गोलरक्षकले पुस गरेपछि नजिकै रहेका बर्नान्डेस्चीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ७७औं मिनेटमा पाहुना टोली १० खेलाडीमा सीमित भएको थियो । पियानिकमाथिको खराब ट्याकलको कारण साम्पोडोरियाका मार्टेन थोर्स्बीले पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए ।
खेलको ८८औं मिनेटमा युभेन्टसले पेनाल्टीको मौका पाएको थियो । जसमा, रोनाल्डोको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।
त्यसअघि पहिलो हाफमा युभेन्टसका स्टार पाउलो डेबाला र डेनिलोले घाइते भइ मैदान छोडेका थिए । खेलको २९औं मिनेटमा डेनिलोले घाइते भइ मैदान छाडे भने ४०औं मिनेटमा डेबालाले मैदान छोडेका थिए । डेनिलोको सट्टामा प्रशिक्षक मौरिसियो सार्रीले फेडेरिको बर्नान्डेस्चीलाई मैदान प्रवेश गराएका थिए भने डेबालाको स्थानमा गोन्जालो हिगुइन मैदान प्रवेश गरेका थिए ।
साम्पोडोरियामाथि २–० गोलको जित निकालेसँगै युभेन्टस लिग च्याम्पियन बनेको छ । यसअघि उडिनेसविरुद्धको खेल २–१ गोलले गुमाएपछि युभेन्टस ३५औं खेल जित्दै घरेलु मैदानमा उपाधि जितेको हो ।
युभेन्टसले दुई चरणको खेल बाँकी छँदै लगातार नवौं पटक उपाधि जितेको हो । २०११–१२ यता युभेन्टसले लगातार उपाधि जित्दै आएको छ । यसैगरी उसले ३६औं सिरी ‘ए’ उपाधि जितेको छ ।
त्यसबाहेक युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानभन्दा ७ अंकले अग्रता बनाएको छ । इन्टरसँग ७६ अंक छ भने शीर्ष स्थानको युभेन्टससँग ८३ अंक छ । यता, पराजित साम्पोडोरिया भने ४१ अंकका साथ १५औं स्थानमा छ ।एजेन्सी





