विविध

मुलुकभर बर्षाको सम्भावना, सतर्क रहन आह्वान

काठमाडौँ, साउन २५ । मनसुनी वायु सक्रिय भएसँगै आइतबार रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले हाल देशका अधिकांश भू(भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा वर्षा भइरहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबै प्रदेशहरुका केही स्थानहरुमा रातिदेखि नै वर्षा भईरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेशका एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

रातिदेखिको वर्षाको क्रम कम्तिमा भोलिसम्म कायमै रहने भएकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आह्वान गरेको छ ।