काठमाडौं, कात्तिक २३ । स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा बार्सिलोनाले रियल बेटिसलाई हराएको छ । घरेलु मैदानमा बार्साले बेटिसलाई ५–२ को फराकिलो अन्तरले हराएको हो ।
बार्साको जितमा लियोनल मेस्सीले २ तथा एन्टोनियो ग्रीजमन, ओस्माने डेम्बेले र पेड्रि गोन्जालेजले गोल गरे । बेटिसका एन्टोनियो सान्ब्रीया र लोरेन मोरोनले गोल गरे । पहिलो हाफ एक एकको बराबरीमा सकिएको खेलमा बार्साले दोस्रो हाफमा ४ गोल थप्दै एक गोल खाएको थियो ।
अंशु फातिको स्थानमा दोस्रो हाफमा मैदान छिरेका मेस्सीले ६१ र ८२ औ मिनेटमा गोल गरेका थिए । ६१ औ मिनेटमा मान्डी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय रियल बेटिस १० खेलाडीमा सिमित बन्यो । ७ खेलबाट ११ अंक जोडेको बार्सा तालिकाको आठौ स्थानमा पुगेको छ । आजै भएको अर्को खेलमा हुएस्का र आईबरले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।

