झापा, मंसिर १८ । मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती गाडीभित्रै रहेको बेला एक समूहले बिहीबार जलाउने प्रयास गरेका छन् ।
अज्ञात समूहद्वारा उपमेयर चढेको गाडी जलाउने प्रयास भएको हो । मेचीनगर नगरपालिकाका उपमेयर उप्रेती चढेको मे१झ १७२ नम्बरको गाडी अज्ञात समूहले जलाउने प्रयास गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
मोटरसाइकलमा आएका दुई जना युवाले त्यो गाडी जलाउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताए ।
चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा धाइजन नजिकै मोटरसाइकलले गाडी छेकेर युवाद्धयले चक्कामा पेट्रोल छर्किएको आगो लगाउने प्रयास गरेका हुन् ।
गाडीभित्र उपमेयर उप्रेती र उनका चालक सवार थिए । उपमेयरलाई ती युवाद्धयले आफूहरू नेपाल विद्यार्थी सङ्घको कार्यकर्ता भएको बताएका थिए । युवाद्धयले चक्का पेट्रोल छर्किएपछि चालकले गाडी त्यहाँबाट भगाउन सफल भएको बताइएको छ ।
‘गाडीभित्र मलाई जिउँदै जलाउने प्रयास गरियो, उपमेयर उप्रेतीले भनिन्, ’धन्न बाँचे, यस विषयमा प्रहरीलाई जानकारी गराइसकेका छौँ।’
घटनाको विषयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान थालिसकेको डिएसपी थापाको भनाई छ ।

