मेचीनगर, पुस ११ । नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको बिषयमा कुनै पनि किसिमको सम्झौता गर्न नसकिने बताएका छन् ।
पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै महासचिव विष्टले श्रमको मुद्धा केवल भाषण गर्ने बिषय मात्र नभई अब साच्चिकै हल हुने बताए ।
बर्तमान परीवेशमा सञ्चार माध्यमलाई उपेक्षा नभई संरक्षण र प्रोत्साहनको खाँचो रहेको बताउँदै विष्टले हरेक सञ्चार गृहले अब संरक्षणको नीति अवलम्बन गर्नु पर्नेमा जोड दिए ।
ब्यवस्थापन र श्रमजीवि बिचमा द्वन्दको स्थिति रहेकाले श्रमको सम्मान गर्दे अघि बढ्नु पर्ने बताउँदै विष्टले श्रमिकको सम्मानका लागि तीन तहको सरकारसंग नीतिगत रुपमा सम्बोधन गराउँने गरी पहल गरिने बताए ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै विष्टले परिवर्तनको यात्रामा यहाँसम्म आईपुग्दा पत्रकारीता जगतले आन्दोलन र संघर्षमा होेमिएको मात्र नभई अगुवाईसमेत गरेको स्मरण गराए ।
परिवर्तका लागि लडेको पुस्ता नै अहिलेसम्म सञ्चारकर्म मै रहेकाले नेपालमा प्रेस माथि हुने जस्तो सुकै आक्रमणको सामना गर्न प्रेस जगत तयार रहेको विष्टले उल्लेख गरे ।
काँकरभिट्टास्थित खानेपानी संस्थाको सभाहलमा आयोजित वार्षिक साधारण सभाको उद्घाटन सत्रमा पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, महासंघका लेखा संयोजक पुरी, महासंघ प्रदेश अध्यक्ष बिक्रम लुईटेल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझाले शुभकामना ब्यक्त गरे ।
त्यस्तै प्रेस संगठन झापा अध्यक्ष मुक्ति पौडेल, प्रेस युनियन अध्यक्ष इन्दु पूर्वेली, प्रेस नेपाल अध्यक्ष देषराज नेम्बाङ, मिडिया नेपाल अध्यक्ष रञ्जित प्रसाई लायन्स क्लव अध्यक्ष शंखर थापा, नारी सञ्चार गृह अध्यक्ष भिमा सिवाकोटी, मेचीनगर लेडि जेसिज अध्यक्ष तुलसा दंगाल लगायत आफ्नो धारण राखेका थिए ।
सभाको बन्द सत्रमा महासंघ झापाका सचिव सन्तोष आचार्यले सांगठनिक र कोषाध्यक्ष इश्वर अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सांगठनिक प्रतिवेदनमा महासंघ झापाको कार्यसमितिले तीन वर्ष १० महिनाको कार्यअवधि सम्पन्न गरिसकेको अवस्थामा आगामी फागुन ३ गते हुने नर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारी रहेको उल्लेख गरिएको छ । त्यस्तै साधारण सभामा पत्रकार आचारसंहिता विपरीत सोलि मिडिया प्रयोग नगर्न र राजनीतिक आग्रह पूर्वाग्रहका सामग्री पोष्ट नगर्न भनिएको छ ।
कतिपय मिडिया हाउसले कोरोनाको वहानामा पत्रकारको पारीश्रमिक भुक्तानीमा ढिलाई गर्ने, निष्काशन गर्ने गरेको पाइए भन्दै त्यस्तो कार्य नगर्न भनिएको छ ।
त्यस्तै आर्थिक प्रतिवेदनमा चार वर्षको अवधिमा ३० भन्दाबढी अन्तरक्रिया, तालिम, छलफल जस्ता कार्यक्रम गरिएको उल्लेख गर्दै दोस्रो बर्षसम्म पत्रकार सहारा उपचार कोषको वृद्धीमा ध्यान केन्द्रित भएको जनाइएको छ ।
कोषमा हाल ४५ लाखबढी रकम जम्मा भएको र निकट भविष्यमा १ करोड पुर्याउने लक्ष्य राखिएको बताइएको छ । महासंघको आगामी कार्यक्रमहरुमा पत्रकार पुस्तकालयका लागि पुस्तक खरिद गर्ने, पत्रकारीता पुरस्कार वितरण गर्ने लगायतका कार्यक्रमहरु उल्लेख गरिएको छ ।
बन्द सत्रमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाईको अध्यक्षतामा ७ सदस्यीय बन्दसत्र सञ्चालन मण्डल निमार्ण गरिएको थियो । बन्दसत्रमा सहभागीहरुले उठाएका सवाल माथि छलफल तथा आवश्यक निर्णयसमेत गरिएको छ ।
महासंघ झापा अध्यक्ष तारामणी सापकोेटाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष एकाराज गिरी र सञ्चालन सचिव सन्तोष आचार्यले गरेका थिए ।

