अर्थ

स्व पिताको सम्झनामा सामुदायिक भवनका लागि निःशुल्क जग्गा दान

मेचीनगर, असार ११। आफ्ना स्व पिताको सम्झनामा झापाको मेचीनगर नगरपालिकाका देवकोटा दाजुभाइले करिब २५ लाख मुल्य बराबरको जग्गा निःशुल्क दान गरेका छन् ।

मेचीनगर–८ स्थित पाथिभरा टोलका विकास देवकोटा र उनको दुई भाइ रेवन्त र पशुपतिले स्व पिता डम्बर बहादुर देवकोटाको सम्झनामा सामुदायिक भवनका लागि डेढ कठ्ठा जग्गा समाजलाई निःशुल्क उपलब्ध गराएका हुन् ।

नयाँ पुस्तामा सामाजिक संस्कार हराउँदै गइरहेको अवस्थामा असल संस्कारको विकास गर्न आफूहरूले उक्त जग्गा सामुदायिक भवनलाई उपलब्ध गराएको विकास देवकोटाले बताए ।

बुवाले म मरे भने पनि समाजकाे लागि केही गर्नु भन्नुभएकाे थियो । देवकोटाले भने, त्यसैले उहाँको सम्झनामा समाजमा सामुदायिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको बताए ।

देवकोटाले लाखौँ पर्ने जग्गा निःशुल्क दान गर्नु महान कार्य भएको मेचीनगर ८ का वडा सदस्य सन्तोष मेचेले बताए ।

जग्गा उपलब्ध भएसंगै दुई तले पक्की सामुदायिक भवन निर्माणका लागि वडा कार्यालयबाट प्रतिबद्धता समेत भईसकेको देवकोटाले जानकारी दिए ।

वडाबाट दुई लाख विनियोजन भएसंगै आज एक कार्यक्रमका बिच भवनको शिलान्यास भएको छ । साथै भवन निर्माण सम्पन्न गर्नका लागि आगामी वर्ष आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत वडाबाट आएको देवकोटाले जानकारी दिए ।