संघ \संस्था

जन्म जयन्तीको अवसरमा प्रेस क्लबलाई नगद रकम प्रदान

मेचीनगर । मेचीनगर–६ काँकरभिट्टा निवासी कृष्णप्रसाद उप्रेतीले आफ्नो ८३ औं जन्म जयन्तीको अवसरमा प्रेस क्लब मेचीनगरलाई नगद रकम प्रदान गरेका छन् ।

भानु साहित्यिक प्रतिष्ठानको सभाहलमा आइतबार आयोजित जन्मोत्सव कार्यक्रमको अवसरमा प्रतिष्ठानका अध्यक्षसमेत रहेका उप्रेतीले क्लबलाई नगद दश हजार रुपैयाँ प्रदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख विमल आचार्यले क्लबका सचिव जीआर धिताललाई नगद दश हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

जन्मदिनको अवसरमा प्रेस क्लबलाई सहयोग प्रदान गरेकोमा मेचीनगरमा रहेका पत्रकारहरुको अभिभावकीय संस्था ‘प्रेस क्लब मेचीनगर’का सचिव धितालले क्लबका तर्फबाट आभार प्रकट गर्दै उप्रेतीको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेका थिए । उनले उप्रेतीको सहयोगले मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठन प्रेस क्लबको उन्नयनमा मद्धत पुग्ने विश्वास ब्यक्त गरे ।

सो अवसरमा क्लबका अध्यक्ष लक्ष्मी उप्रेती, निवर्तमान अध्यक्ष मुक्ति पौडेल, प्रेस संगठन झापा संयोजक झुलन रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

इ–लाइब्रेरी निर्माणमा एक लाख एक हजार :

जन्मोत्सवकै अवसरमा प्रतिष्ठान अध्यक्ष उप्रेतीले भानु साहित्यक प्रतिष्ठानको इ–लाइब्रेरी निर्माणका लागि नगद रु एक लाख एक हजार प्रदान गर्ने घोषणा गरे । प्रमुख अतिथि आचार्यले प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेललाई सो रकमको चेक हस्तान्तरण गरेका छन् ।

जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उप्रेतीले समाजमा सकारात्मक कार्य गरौं भन्ने उद्देश्यबाट आफु सदैव प्रेरित हुँदै आएको र यो वर्षसमेत त्यसैको निरन्तरता स्वरुप सामाजिक कार्यमा रकम सहयोग प्रदान गरेको बताए ।

उनले पुस्तकालय जस्तो पुण्य क्षेत्रमा रकम प्रदान गर्न पाउँदा आफु हर्षित भएको र यसले आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास ब्यक्त गरे । साथै उनले आम नागरिकलाई सुसूचित गराउने पत्रकारहरुको संस्था प्रेस क्लबलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरेको बताए ।

काँकरभिट्टामा इ–लाइब्रेरी निर्माण गर्ने अभियानलाई मूर्तरुप दिन सबैको सहयोग अपरिहार्य रहेको बताउँदै उप्रेतीले अभियानमा जोडिन नगरपालिका, साहित्यक तथा राजनीतिक क्षेत्रमा तमाम ब्यक्तित्व तथा सरोकारवालाहरु सबैमा आग्रहसमेत गरे ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख आचार्यले ८३ वर्ष प्रवेश गर्दाको अवस्थामा समेत युवा अवस्थामा झैं सामाजिक कार्यमा सदैव सक्रिय रहने उप्रेतीको सामाजिक जीवनको चर्चा गर्दै समाजमा यसले गतिलो उदाहरण प्रस्तुत गरेको धारणा राखे ।

कार्यक्रममा प्राज्ञ सभा सदस्य शुभद्रा अर्याल, वडा नम्बर ६ का अध्यक्ष ललितबहादुर तामाङ, ज्येष्ठ नागरिक संघ झापा अध्यक्ष हरि ओली, काँकरभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, साहित्यकार विजय खेरल, प्रेस क्लब मेचीनगर सचिव जीआर धिताललगायतले उप्रेतीलाई शुभकामना ब्यक्त गर्दै उप्रेतीले समाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव जयप्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका सचिव तथा काँग्रेस नेता केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका नेता माधवलाल अर्याललगायतको आतिथ्यता रहेको थियो ।

ज्येष्ठ नागरिक संघ झापा, भानु साहित्यक प्रतिष्ठान मेचीनगर, जन–संसद् दैनिक लगायत थुप्रै सामाजिक संघ संस्थामा कुशल नेतृत्व प्रदान गरि सकेका उप्रेतीका साहित्यक पुस्तकहरु समेत प्रकाशित छन् ।

सामाजिक क्षेत्रमा सक्रिय रहने उप्रेतीका समसामयीक विषयवस्तुमा आधारित लेख रचनाहरु समेत पत्रपत्रिका प्रकाशित हुँदै आएका छन् ।