शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा शनिवार देखी नेतृत्व विकास तथा सचेतना अभिमुखी करण तीन दिवसीय तालिम सुरु भएको छ ।
नगरको ६ लाख ५० हजार आर्थिक सहयोगमा ११ वटै वडाका आदिवासी जनजातिको नेतृत्व विकास सचेतना सम्बन्धी अभिमुखी करण तालिम सुरु गरिएको आदिवासी जनजाति समन्वय परिषद् शिवसताक्षीका कोषाध्यक्ष हेमन गुरुङले बताए ।
‘हरेक वडामा रहेका आदिवासी जनजातिहरूलाई उनीहरूको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको हो,’उनले भने ।आदिवासी जनजाति सामुदायिक भवनमा एक कार्यक्रममा आयोजना गर्दे तालिमको उद्घाटन गरिएको हो । आदिवासी जनजाति समन्वय परिषद् झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले तालिमको उद्घाटन गरेका हुन् । उनले सरकारले केही हद सम्म आदिवासी जनजातिका मुद्दाको सम्बोधन गर्न न्यून कार्यक्रम ल्याएको बताए ।
‘हाम्रो माग र लडाइँका आधारमा सरकारले आफूहरूको जीवन स्तर उकास्नका लागि रचनात्मक कार्यक्रम ल्याएको हो । अपेक्षा गरे अनुसारको माग सम्बोधन गर्न सरकारले नसकेपनि हामी सरकारको विवेचना चैँ गर्छौ नै,’ उनले भने ।तालिमको सहजीकरण आदिवासी जनजाति समन्वय परिषद् झापाका पूर्व सचिव अधिवक्ता शम्भु थापा मगरले गर्ने छन् ।
‘शनिवार तालिमको उद्घाटन मात्र गरिएको हो, आयोजक आदिवासी जनजाति समन्वय परिषद् शिवसताक्षीका अध्यक्ष मणिकुमार माझिले भने, ‘१९ गते वडा नम्बर १, २ र ३ का आदिवासी जनजातिलाई वडा नम्बर २ मङ्गलबारेको वडा कार्यालयको तालिम हलमा , वडा नम्बर ४,५ र ६ का आदिवासीका लागि जनता बजार वडा नम्बर ४ मा २२ देखी २४ गते सम्म तालिम हुने छ ।’यस्तै वडा नम्बर ८ र ११ का लागि झिलझिलेको किरात भवनमा २५ देखी २७ सम्म र वडा नम्बर ७, ९ र ११ का लागि दुधेको आदिवासी जनजाति भवनमा २९ देखी पुस १ गते सम्म तालिम हुने उनले बताएका छन् ।
आदिवासी जनजाति समन्वय परिषद् शिवसताक्षी नगरका अध्यक्ष मणि कुमार माझीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नवीन लामाले गरेका थिए । कार्यक्रममा थारु कल्याणकारी परिषद्का नगर अध्यक्ष रामदेव चौधरी लगायतले तालिम सफलताको कामना गर्दे प्राप्त सिप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई अपिल गरेका थिए ।

