राजनीति

पूर्वडिआइजी रमेश खरेलले ‘नेपाल सुशासन पार्टी’ गठन गर्ने

काठमाडौं । नेपाल सुशासन अभियानका संयोजक तथा पूर्वडिआइजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन्।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपाल सुशासन पार्टी’ गठन गर्ने घोषणा गरेका हुन्। उनले शुक्रबार दिउँसो ३:३० पत्रकार सम्मेलन गरी उक्त पार्टी गठनको घोषणा गर्ने बताए।

देशले राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले विकासको गति लिन नसकेको भन्दै आफूले नयाँ पार्टी गठन गर्न लागेको उनले बताएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गौरवमय इतिहास र आफ्नै फरक पहिचान बोकेको हाम्रो देश नेपाल, पृथ्वीकै लागि गर्विलो देश हो। देशलाई समृद्ध बनाई देश सफल र शक्तिशाली बनाउन नेपालमा थुप्रै सम्भावनाहरू रहेका छन्। तर दुर्भाग्यबस हरेक सम्भावनाबाट पर्याप्तता रहेको हाम्रो देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार जस्ता कारणले गर्दा विकासको गति लिन पाएन।’

त्यसैले एक नयाँ आयामको रूपमा नेपाललाई सफल र शक्तिशाली देशको रूपमा स्थापित गर्न नयाँ पार्टी गठन गर्न लागिएको उनले बताए। खरेल २९ वर्ष प्रहरी सेवामा थिए। प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै उनले डिआइजी पदबाट राजीनामा दिएका थिए।

प्रहरी संगठनबाट राजीनामा दिएपछि खरेलले भ्रष्टाचार र अनियमितताविरूद्ध नेपाल सुशासन अभियान सञ्चालन गरेका थिए।