राजनीति

अपवित्र साँठगाँठको नाम हो, गठबन्धनः अध्यक्ष ओली

झापा । प्रमुख प्रतिपक्षीय दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरेपनि आगामी मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । विहीबार जिल्लाको कचनकवल गाउँपालिकास्थित बनियानीमा आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।

मंसिर ४ को चुनावका लागि सत्तारुढ दलहरुले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेको आरोप लगाउँदै भनेका छन्, ‘कमजोरहरु गठबन्धन गर्दैछन् । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरु साँठगाँठ गर्दैछन् । अपवित्र साँठगाँठको नाम हो, गठबन्धन । अहिले ८–१० वटा र्पुयाउने भन्दैछन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले फेरि भने, ‘अरुपनि मान्छे खोजे हुन्छ । त्यो गठबन्धनमा कति वटा पार्टी पुगे हामीलाई मतलब छैन । उनीहरुको गठबन्धनका पार्टीहरुसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे छैनन् ।’

यसका साथै अध्यक्ष ओलीले एमालेले बहुमत ल्याउने गरी कार्यकर्तालाई परिचालन हुन निर्देशन दिएका छन् । उनले उच्च मनोबलका साथ जनताको घर जान र एमाले सरकारले गरेका कामहरुबारे जानकारी गराउन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले एमालेको लक्ष्य कम्तीमा बहुमत ल्याउने उल्लेख गरे । साथै उनले संविधानले व्यवस्था गरेअनुरुप सबैलाई नागरिकता दिइने बताउँदै भने, ‘नागरिकताको चिन्ता नलिनुहोस् । नेपाल नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्नुपर्ने संविधानले अधिकार दिएका सबै नेपालीले नेपालको नागरिकता प्राप्त गर्छन् ।’