धर्म संस्कृती

आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

झापा । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन झापाको श्री कृष्णथुम्की धामलगायत देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

मेचीनगर १ स्थित निन्दा सिरानमा रहेको धार्मिक तथा पर्यटकिय स्थल श्री कृष्णथुम्की धाममा ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वको अवसर पारेर साउन ३० गतेदेखि पाँच दिने धार्मिक तथा पर्यटकिय महोत्सव पनि लागिरहेको छ ।