राजनीति

चुनावमा एउटै घाेषणापत्र बनाउन र पार्टी एकता गर्न प्रचण्ड-माधव सहमत

काठमाडौँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणा पत्र बनाएर जान पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल तयार भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रहेका प्रचण्ड र नेपालबीच आज भएको छलफलपछि उक्त समझदारी बनेको बताइएको छ ।

दुवै पार्टीबीच एकता गर्नेबारे समेत कुरा भइरहेको बताइएको छ । मंसिरमा हुने निर्वाचनअघि नै एकता संयोजन समिति घोषणा गर्ने तयारी भइरहेको छ । आज ललितपुरस्थित  हात्तीवनमा दुवै पार्टीका र्शीष नेताबीच लामो छलफलपछि उक्त कुरामा समझदारी बनेको बताइएको छ । सो छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र समाजवादीका महासचिव वेदुराम भुसाल समेत सहभागी थिए ।

साे छलफलमा दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा समेत कुराकानी भएको थियो ।

आजै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्ने तयारी पनि छ ।