अर्थ

काँकरभिट्टा साकोसको १२औं बार्षिक साधारणसभा सम्पन्न

मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२औं बार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गरेको छ ।

शनिबार आयोजित संस्थाको बार्षिक साधारण सभा कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले सहकारी संस्थाले सहज रुपमा सदस्यहरुलाई आर्थिक कारोबारहरु गरेको बताउँदै अब आफ्ना सदस्यको जिवनस्तर उकास्न रचनात्मक कार्यतर्फ पनि सोच्नुपर्ने बताईनन् ।

संस्थाले साधारणसभाको अवसरमा ३ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा उत्कृष्ट कर्जा तर्फ लक्ष्मी थोक्रा सेर्पा, उत्कृष्ट बचत कर्ता तर्फ जयप्रसाद तामाङ र जेष्ठ बचतकर्ता तर्फ लीला कार्की रहेकी छिन् । उनीहरुलाई नगदसहित सम्मान पत्रले सम्मान गरिएको संस्थाका व्यवस्थापकमिरा सुवेदीले जानकारी दिईन् ।

संस्थाका अध्यक्ष भुपाल सिवाकोटीले अध्यक्षको बार्षिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, मेची उद्योग वाणिज्य संघ उपाध्यक्ष बिना तामाङलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य हस्त बहादुर आङ्गदेम्बेले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष राजु कार्कीले गरेका थिए ।