झापा । “मिस तामाङ वर्ल्ड २०२२” भारतको सिलुगढीमा हुने भएको छ । अघिल्लो वर्ष काठमाडौँमा सम्पन्न प्रतियोगिता यस वर्ष भारतको सिलिगुढीमा हुन लागेको हो ।

आगामी फेब्रुअरी ११ तारिखबाट सुरू हुने प्रतियोगितामा नेपाल, भारत, जापान अमेरिका र अस्ट्रेलियालगायतका राष्ट्रमा बसोबास गर्दै आएका तामाङ समुदायका युवतीहरूले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । आज झापाको विर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मिस तामाङ वर्ल्ड फाउन्डेसनले प्रतियोगिता सम्बन्धि जानकारी गराएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङ समुदायबाट निर्वाचित प्रदेशसभा सदस्य गोपाल तामाङले सबै जाती समुदायले आफ्नो भेषभुषा, भाषा, कला र सँस्कृतिको जगेर्ना गर्दै आउँदो पिडिलाई पनि त्यस सम्बन्धि जानकारी गराउनु पर्ने बताए ।

सातवटा विधामा प्रतिष्पर्धा हुने प्रतियोगितामा विजेता हुनेले नगद १० लाखसहित ट्रफी प्राप्त गर्ने छन् । सन् २०२१ मा भएको प्रतियोगितामा सिक्किमकी साङ डोमा तामाङले मिस तामाङ वर्ल्डको उपाधि हात परेका थिए । उनी यस अघि मिस सिक्किम समेत बनिसकेका छन् ।
प्रतियोगिताका लागि नेपाल र भारतका विभिन्न ठाउँमा तालिमको आयोजना गरिने फाउन्डेसनका महासचिव केवल तामाङले बताए । प्रतियोगिता सम्पन्न गर्न एक करोड चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष मोक्तानले बताए ।
प्रतियोगिताका विजेतासँगै अन्य उत्कृष्ट ५ जनालाई पाँच विधामा पुरस्कार प्रदान गरिने बताइएको छ । पाँच विधाहरूमा मिस तामाङ विश्व संस्कृति, मिस तामाङ विश्व पर्यटन , मिस तामाङ विश्व समाज कल्याण , मिस तामाङ विश्व शिक्षा , मिस तामाङ विश्व स्वास्थ्य रहेका छन् । मिस तामाङ वर्ल्ड फाउन्डेसनले तामाङ समुदायको प्रतिनिधित्व गर्दै बनेका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा प्रदेश नम्बर १ प्रदेश सभा सदस्य गोपाल तामाङ र रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङ रहेका छन्। गोपाल झापा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित बनेको हो ।

