मेचीनगर ४ ले बाटो किनारमा लगाएका फूलका विरुवाहरु तोडफोड गरिएको छ । माघ १ गते आयोजना गरिएको नेपालकै पहिलो तरुल उत्सवको पूर्व तयारी तथा बाटोको सुन्दरताका लागि वडा कार्यालयले सरस्वती माविको माथिल्लो भागदेखि वडा कार्यालयको तल्लो भागसम्म करिब डेढ किलोमिटर दुरीमा विभिन्न जातका फूलका विरुवाहरु रोपेको थियो । तर, त्यहि उत्सवकै दिन राती विरुवा तथा विरुवा रोपको ड्रममा तोडफोड गरिएको छ । ठुला ठुला ड्रममा माटो मल मिलाएर पहिलो चरणमा २ सय ३ वटा विरुवा रोपिएको थियो । रोपेको ३ दिन पनि वित्न नपाउँदै भएको यो घटनाले वडाबासी अचम्मित मात्र होइन वडाको विकास भएको देख्न नसक्ने व्यक्तिहरु पनि यहि वडामा रहेछन भन्ने कुरा स्थानीय व्यवसायी सन्तोस सुवेदीले बताउनु भयो । सुवेदीको घर अगाडी रहेको ड्रम पानी जम्मा गर्न खनिएको खाडलमा हालिएको थियो । उहाँले राती १० बजेसम्म केही नभएको र १० बजेपछि यो तोडफोड गरिएको हुन सक्ने बताउनु भयो ।

पहिलो पटक आयोजना भएको उत्सव सामान्य केही त्रुटीहरु बाहेक सोचे भन्दा उत्कृष्ट रुपमा सम्पन्न भएको थियो, तर, रातीको समयमा विरुवाहरु तोडफोड हुनु निन्दनीय रहेको वडा अध्यक्ष अर्जुन कार्कीले बताउनु भयो । अध्यक्ष कार्कीले भन्नु भयो –‘यस्ता मेला महोत्वस गर्दा पहिला पहिला मान्छे काट्ने, झै झगडा हुने गरथ्यो । अहिले चाइ त्यो सुधार हुँदै आएको छ र यस्ता सामान्य बदमास गर्न थालेका छन् । यसलाई मैले सामान्य रुपमा लिएको छु तर, सामान्य भनेर अहिलेबाटै नियन्त्रण गर्न सकिएन भने भविष्यमा ठूलो रुप लिन सक्ने भएकाले समाजमा हुने यस्ता गतिविधिलाई बेलैमा रोक्नका लागि पनि सबैलाई सचेत हुन र सजग हुन अनुरोध गर्दछु ।’

वडाका सबै क्षेत्रमा विस्तार गर्ने र आफ्नो घर अगाडी रोपेका विरुवाहरु आफ्नो पितृको नाममा हुर्काउन वडाले आग्रह गरिसकेको थियो । तर, रोपेको विरुवा सर्न नपाइ उखल्ने काम भएको छ । करिब ११ वटा विरुवासहितको ड्रममा तोडफोड गरिएको वडा अध्यक्ष अर्जुन कार्कीेले बताउनु भयो । उहाँले यो असामाजिक कार्य गर्ने व्यक्तिको खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न स्थानीय प्रशासनलाई आग्रह गर्नु भएको छ । उहाँले वडाको सन्दरतासँगै विकासको गतिमा अघि बढेको अभियानलाई असफल बनाउन लागि पर्ने तत्वलाई छोडन् नहुने बताउदैँ सामाजिक चेतनाको कमि हो या विकास विरोधी हो छानविन गर्नु पर्ने बताउनु भयो ।


