खेलकुद शिक्षा

तेस्रो मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

मेचीनगर । झापाको मेचीनगरमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

मेचीनगर नगरपालिकाको आयोजना तथा धुलाबारी माध्यमिक विद्यालयको संयोजनमा सुरु भएको प्रतियोगिताको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

मेचीनगर १० स्थित धुलाबारी माविको प्रांगणमा ३ दिनसम्म संचालन हुने प्रतियोगितामा छात्र र छात्रा गरी दुवै विधाका एथ्लेटिक्स, हाइ जम्प, लङ्ग जम्प, ज्याभ्लिङ थ्रु, छेलो, कराँते, उसु, कब्बडी, भलिबल, टृपल जम्प लगायतका खेलहरु हुने धुलाबारी माविका प्रधानाध्यापक महेन्द्र विलाश लुइँटेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट बनेका खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगिताका खेलहरुमा सहभागी गराइने छ ।

प्रदेश १ का प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यतामा भएको उदघाटन समारोहको सभापतित्व नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । मेचीनगर प्रमुख प्रशासकिय अधिकृत होमनाथ भण्डारी, शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेल, धुलाबारी माविका प्रधानाध्यापक लुइँटेल लगायतले मन्तव्य राखको कार्यक्रममा धुलाबारी माविका शिक्षक तेजप्रसाद चौलागाँइले स्वागत गरेका थिए ।

पशुपति माविका शिक्षक केशव पोखरेलले सञ्चालन गरेको कार्यक्रममा बिद्यार्थीहरुले नृत्य तथा सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए । प्रतियोगितामा नगर क्षेत्रका ४० बढी सामुदायीक तथा निजि विद्यालयहरुको सहभागिता रहेको छ ।