खेलकुद

भुटानलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा

झापा । भुटानलाई स्तब्ध पार्दै त्रिभुवन आर्मी क्बल प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली डुक ल्यायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्बलले अन्तिम चारमा स्थान बनाएको हो ।

डुक ल्यायुल एफसी बिरुद्ध सुरूवात देखि नै आक्रमक बनेको आर्मीको लागि जितेन्द्र कार्की र सुशान्त चौधरीले एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमै आर्मीले पाहुन टोली भुटानविरुद्ध गोल ग¥यो । पेनाल्टी एरिया नजिकै आर्मीले पाएको फ्रिकिकको सदुपयोग गर्दै तेस्रो मिनेटमा जितेन्द्र कार्कीले गोल गरे । उनले फ्रिकिकबाट सिधै जाली चुमाएका हुन् ।

यस्तै, खेलको ६४ औँ मिनेटमा आर्मीका सुशान्त चौधरीले अर्को गोल थपे । बारमा ठोकिएर फर्किएको बललाई पेनाल्टी एरियामा रहेका चौधरीले गोल गरेका थिए ।

सुरुवातमै गोल खाएपछि दबाबमा रहेको भुटान पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा क्वार्टर फाइनलबाटै घर फर्कनुप¥यो । खेलमा भुटानको डिफेन्स लाइन निकै कमजोर देखिन्थ्यो ।

जितसँगै आर्मीले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

बिहीबारको खेलको प्लेयर अफ द म्याच आर्मीका जितेन्द्र कार्की घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए ।

शुक्रबारको खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशबीच हुने आयोजकले जनाएको छ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छ ।