खेलकुद

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : एमएटी, धुलाबारी र सुर्योदय विजयी

मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको आज भएको खेलमा एमएटी पब्लिक स्कुल, धुलाबारी मावि र सुर्योदय अंग्रेजी मावि विजयी भएका छन् ।

मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा भएको आजको पहिलो खेलमा अरुणेदय आवसीय माविलाई ८ विकेटले पराजित गर्दै एमएटी पब्लिक स्कुल विजयी भएको छ ।

टस जितेर ब्याटिङ रोजेको अरुणेदयले ६७ रन जोड्न सफल भएको थियो । ६८ रनको लक्ष्य लिएर मैदान छिरेको एमएटी पब्लिकले आफ्नो लक्ष्य भेटायो । खेलको प्लेयर अफ द म्याच ३६ रन जोड्न सफल विजेता टिमकी ग्रेशी सुवेदी घोषित भइन् ।

आज नै भएको दोस्रो खेलमा छात्र तर्फ धुलाबारी माविले नर्थप्वाइन्ट अंग्रेजी माविलाई ४८ रनले पराजित गर्यो । नर्थप्वाइन्टले टस जितेर फिल्डङ रोजेको थियो । पहिलो ब्याटिङको निम्तो पाएको धुलाबारीले १२१ रन जोड्न सफल भयो । १२२ रनको तार्केट लिएर ब्याटिङ गरेको नर्थप्वाइन्ट ४८ रनले पराजित भयो । खेलको प्लेयर अफ द म्याच ४ विकेट लिने विजेता टिमका अभि थपलिया घोषित भए ।

त्यस्तै आज नै भएको तेस्रो खेलमा छात्र तर्फ सुर्योदय अंग्रेजी माविले एमएटी पब्लिक स्कुल ८ विकेटले पराजित गरेको छ । टस जितेर सुर्योदय अंग्रेजी माविले फिल्डङ रोजेको थियो । पहिलो ब्याटिङको निम्तो एमएटी पब्लिक ११० रन जोड्यो । १११ रनको तार्केट लिएर ब्याटिङ गरेको सुर्योदयले ८ विकेटले विजयी भयो ।

फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमश नगद २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए ।