अर्थ

चिया मजदुरको चेतावनी : न्युनतम पारिश्रमिक वृद्धि नगरिए, भदौ ७ गतेबाट देशैभरका बगान ठप्प पार्ने

झापा । मजदुरको न्युनतम पारिश्रामिक नबढाइएपछि झापाका चिया मजदुरहरू आन्दोलित भएका छन् । पारिश्रमिक बढाउनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

चिया बगानमा दैनिक काम गरेर आएको पारिश्रमिकले आफ्नो र परिवारको गुजरा चलाउँदै आइरहेका चिया मजदुरहरुले समयसापेक्ष ज्याला नपाउँदा समस्या भएको बताएका छन् । बाह्रै महिना बगानमा काम गर्ने मजदुरहरु अहिले चिया बगान मालिकले पारिश्रमिक नबढाए पछि आन्दोलनमा उत्रिनु परेको बताउँछन् ।

महंगी चुलिएको छ । बजारमा सरसामान छोईनसक्नु आकाशिएको छ । पैसा नभए के किनेर खाने, के गर्ने समस्या छ । तर, यस्तो अवस्थामा पनि बगान मालिकहरु भने, राज्यले निर्धारण गरेको न्यूनतम पारिश्रमिक दिन समेत आनाकानी गर्दैछन् । आफुहरुलाई राज्यले तोकेको न्यूनतम पारिश्रमिक बगान मालिकहरुले यथाशिघ्र दिनुपर्ने मजदुरहरुको भनाई छ ।

अहिले चिया मजदुरहरुले ४ सय ३५ रुपैँया मात्रै पारिश्रामिक पाउँदै आएका छन् । ‘उक्त पारिश्रामिकलाई बढाएर ५ सय २५ बनाउनु पर्ने उनीहरुले माग गरेका छन् । सरकारले बनाएको कानुनको बगान सञ्चालकहरुले उल्लंघन गरेको, महंगी बढेर दुई छाक खान समेत धौधौ परेको बेला सरकारले तोकेको न्युनतम पारिश्रमिक समेत नदिएर श्रम शोषण गरेको भन्दै श्रम ऐन २०७४ लागू गरिनुपर्ने उनिहरुको माग रहेको छ।

जिल्लाका विभिन्न बगानमा कार्यरत सयौंको संख्यामा उपस्थित मजदुरहरुले सडकमा प्रदर्शन गर्दै ‘न्युनतम पारिश्रामिक वृद्धि गर’ ‘पत्ती डबली वृद्धि गर’ ‘रोजगार सम्झौता लागु गर’ श्रम शोषण बन्द गर’ योगदानमा आधारित सामाजिक सुरक्षा – लागू गर’ लगायतका नाराबाजी गर्दै शनिबारबाट सडक आन्दोलन सुरु गरेका छन् ।

‘विगत ३ बर्षदेखि मजदुरको पारिश्रामिक नबढेको र पटकपटक यस विषयमा छलफल गर्दा समेत बगान मालिक र सरकारले बेवास्ता गरेका भन्दै यसको बिषयमा चिया मजदुरहरु आन्दोलनमा उत्रनु परेको अखिल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष भुपाल सापकोटाले जानकारी दिए । उनले भने, मजदुरहरूले कुनै ठुलो अपेक्षा राखेर आन्दोलन गरेको छैनन् । सरकारले ल्याएकोे सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने, सरकारले तोकेको पारिश्रमिक मजदुरले पाउनुपर्ने माग मात्रै रहेको छ । यदि मजदुरहरूको आन्दोलनलाई बेवास्ता गरे भदौ ७ गतेबाट देशैभरका सबै बगान ठप्प पार्ने उनको भनाई छ ।

बजारमा हरेक चिजबिजको मुल्य आकाशिएको छ । तर, अहिले पनि बगान मालिकहरुले न्यून ज्यालामा मजदुरहरुलाई काममा लगाउने गरिरहेका छन् । के राज्यको कानुन तल्लो वर्गलाई मात्रै हो ? ठुलाबढाले कानुन मान्नु नपर्ने हो ? होइन भने राज्यले तोकेको नियम भित्र बगान मालिकहरु पनि बस्नु पर्ने हुन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।