झापा । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरीक्षक युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको छ । बिहीबार साँझ ६ः५० बजे शिवसताक्षी–९ झरनापुल नजिकै कटुवालमाथि आक्रमण भएको हो ।
आक्रमणबाट कटुवालको टाउकोमा आठ र हातको औँलामा तीन टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
झरना पुल नजिकै लागूऔषध प्रयोगकर्ताले ब्राउनसुगर प्रयोग गरिरहेको सूचना पाएका कटुवालको सादा पोशाकको प्रहरी टोलीले मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही ढंगले चलाएको पाएपछि सोधपुछ गर्ने क्रममा उनीमाथि बञ्चरो प्रहार भएको थियो ।
तीन जना सवार मोटरसाइकलको पछाडि बसेका सोहि स्थानका ३६ बर्षीय अशोक पोखरेलले इन्स्पेक्टर कटुवालमाथि बञ्चरो प्रहार गरेको प्रहरीको भनाई छ ।
मोटरसाइकल चालक ३२ बर्षीय विकास भनिने अरुण तामाङ्, मोटरसाइकलको वीचमा सवार सोहि स्थानका ३३ बर्षीय लक्ष्मण टुडु र बञ्चरो हान्ने पोखरेलसहित मोटरसाइकल नियन्त्रणमा लिएको डीएसपी रिजालले जानकारी दिए ।

