मेचीनगर । मेचीनगर ७ मा आजबाट प्रथम जोरसिमल कप २०८०’ फुटबल प्रतियोगिता सुरु भएको छ । पुस ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि उप्रेतीले खेलकुदले मानिसलाई अनुशासीत र स्वास्थ्य रहन मदत पुर्याउने बताइन् ।

अहिले युवापुस्तामा विद्यमान बन्दै गइरहेको लागुऔषध दुव्र्यशनी निर्मुल पार्न पनि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले सबैलाई खेलकुदसंग जोड्नुपर्ने बताइन् । साथै उनले स्थानीय सरकारको तर्फबाट खेलकुख क्षेत्रलाई प्राथमिकतामा राखेर अगाढी बढीरहेको बताइन् ।

कार्यक्रममा त्यस्तै मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीले वडामा हुने यी र यस्ता प्रतियोगिताले स्थानीय खेलाडीहरुलाई खेल क्षेत्रमा लाग्न प्रेरण मिल्ने गरेको बताए । उनले वडाले आफ्नो क्षेत्रमा हुने सबै खेललाई प्राथमिकतामा राखेर अगाडी बढीरहेको बताए ।
सञ्जय मेचेको अध्यक्षतामा आयोजना भएको प्रतियोगिताको उद्घाटन शत्रमा स्वागत रविनशन थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन अभिषेक सार्कीले गरेका थिए ।

त्यस्तै आज भएको उद्घाटन खेलमा आयोजक युवा क्लब जोरसिमलले विजयी सुरुवात गरेको छ । जोरसिमलले मोहनकित्ता फुटबल क्लबलाई १-० गोल अन्तरले हराएको हो । जोरसिमलका तर्फबाट खेलको ५० औँ मिनेटमा विकास दनुवारले गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच गोलकर्ता विकास दनुवार भए । उनलाई मेचीनगर युवा परिषदका उपाध्यक्ष विवेक खवासले ट्रफी प्रदान गरे ।
प्रतियोगिताका संयोजक सञ्जय मेचेका अनुसार जोरसिमल कपमा मेचीनगरका ११ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस १६ गते हुनेछ ।
प्रतियोगितामा मोहनकित्ता एफसी, युथ क्लब जोरसिमल, घोडाजिन एफसी, ब्रदर्श एफसी, एफसी डोको, ज्यामिरगढी एफसी, एनएफसी धुलाबारी, तुर्केनी एफसी, देवीगंगा एफसी, सालबारी एफसी र जिएफसी चारआलीको सहभागिता रहेको मेचेले बताए ।
प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद २० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न दुई लाख खर्च अनुमान गरिएको छ ।

