मनोरञ्जन

मेचीनगर –८ मा साँस्कृतिक कार्यक्रम, कलाकारसँगै झुमे दर्शक

मेचीनगर । शुक्रबार साँझ मेचीनगर – ८ स्थित मकरे चोक संगीतमय बन्यो । राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकार अनि बिभिन्न जातजातिको जातीय नृत्यले सहभागिहरुलाई मनोरञ्जन मात्र प्रदान गरेन । आफ्नो सभ्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्न प्रेरित पनि गर्यो ।

न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा नेवा स् देय् दवू मेचीनगर – ८ वडा समितिले साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । साँस्कृतिक कार्यक्रममा न त उत्ताउला गीत सुनियो, तन छोटा कपडा लगाउने कलाकारले स्टेज नै पाए । साँस्कृतिक पहिचान के हो रु यो सन्देश दिन कलाकार जातीय भेषभूषामा सहभागि थिए । कार्यक्रम पूर्व नै आयोजकले उद्घोष गरेको थियो । हामी खास साँस्कृतिक कार्यक्रम देखाउने छौं । छोटा कपडा लगाउने कलाकारले स्थान पाउँने छैन ।

साँस्कृतिक सम्पदा पुर्खाको पौरख, नेपाल सम्बत राष्ट्रिय गौरव भन्ने मुल नाराका साथ आयोजित साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार उत्तमजंघ लिम्बू , कमल रसाइलीको बेजोड प्रस्तुतीले सहभागिहरुलाई छमछमी नचाएको थियो । औपचारिक कार्यक्रमपछि सहभागिहरुलाई लाखे नाचले स्वागत गरेसँगै बिभिन्न जातजातिको जातीय नृत्य प्रस्तुत गरिएको थियो ।

सनसाइन इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीहरुको रोचक प्रस्तुतीसँगै दोकानडाँडा बोर्डिङ स्कूलका विद्यार्थीहरुको संगीनी नृत्यपछि माहोल एका एक तातिएको थियो । त्यसपछि मेचेजातिको जातीय नृत्य, उराउ जातिको नृत्य, नेवा स् देय् दबूको नृत्य, ठाकठुके लय । राजवंशी जातिको नृत्य, उराउ जातिको नृत्य, तामाङ् जातिको नृत्य तथा घोडाजिन एकता समाजले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

नेवा स् देय् दवूका केन्द्री सचिव दिनेश शाक्यले कार्यक्रमको औचित्य प्रकाश पार्दै नेपाल सम्बत नेपालको आफ्नो मौलिक सम्बत भएको बताए । यो कुनै जात विशेषको होइन,” उनले भने, “सुरुको दिनमा नेवार समुदायले यसलाई अघि बढाएको हो अव यस सम्बतलाई सम्पूर्ण नेपालीहरले अपनत्व गरेर आफ्नो मौलिक सम्बतलाई प्रयोग गर्नु पर्छ ।” चन्द्रमासमा आधारित यो सम्बत भक्तपुरका राजा राधदेवको पालादेखि सुरु भएको उनले बताए । राजा राधवको पालामा देश तथा जनतालाई ऋण मुक्त गर्न शंखराधर शाक्वाले सरकारलाई ठूलो धन सम्पती दिए पछि राजाले खुसी भएर कुनै इच्छा भए माग्नु भनेपछि साख्वाले नेपाल सम्बत सुरु गर्न आग्रह गरेका थिए । उनको आग्रहलाई राजाले सोही वर्षदेखि कार्यान्ययन गर्दै नेपालमा नेपाल सम्बत सुरु भएको उनले बताए ।

नेवा स् देय् दवूका वडा अध्यक्ष रोहित कुमार श्रेष्ठको सभापतित्व तथा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक भएको बताउँदै सबै जातजातिको संस्कार र संस्कृतिको संरक्षण सरकारको दायीत्व भएको बताइन् । “नेपालीहरुको संस्कार विश्वका हरेक देशमा प्रयोग हुँदै गएको छ,” उनले भनिन्, “संस्कार र संस्कृतिको हिसावले नेपाल बिश्वको सबै भन्दा धनी मुलुक हो, हामी जहाँपुग्दापनि हाम्रो संस्कार मानेको पाइन्छ ।”
उनले पछिल्लो समय देशमा बिभिन्न जातजातिले आफ्नो कला संस्कार र संस्कृतिको संरक्षमा चासो बढ्दै गएको बताइन् ।

सो अवसरमा मेचीनगर –८ का वडाध्यक्ष गिरीराज धमलाले नेवार समुदायको कल्चर लोभलाग्दो रहेको बताए । वडाध्यक्ष धमलाले मेचीनगर – ८ मा अन्य वडाको तुलनामा सबैभन्दा बढी जातजातिको बसोबास रहेको भन्दै सबै जातजातिको कला र संस्कृतिको संरक्षणमा लागि पर्ने बताए ।

सो अवसरमा मेचीनगरपालिकका पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, नेवा स् देय् दबूका मेचीनगर अध्यक्ष उदय कुमार श्रेष्ठ, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, दोकानडाँडा बोर्डिङ स्कूलका प्रिन्सिपल नेत्र प्रसाद खतिवडा, मेचीनगरपालिकाका प्रेस संयोजक युवराज आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

साँंस्कृतिक कार्यक्रमको सञ्चलन कार्यक्रमका संयोजक अभिशेक श्रेष्ठ र मञ्जु चिमरियाले गरेका थिए ।