मेचीनगर । कोशी प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउने लक्ष्यसहित आगामी चैत्र २७ गते ’कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्ने तयारी गरिरहेको छ । सोही सन्दर्भमा, कोशी प्रदेश पर्यटन वर्ष सचिवालयले सरोकारवालासँग छलफल तथा अन्तरक्रियालाई तीव्रता दिएको छ।
यसैक्रममा, आज झापाको मेचीनगरस्थित पर्यटन कार्यालय काँकरभिट्टाको संयोजनमा पर्यटन व्यवसायी तथा सम्बन्धित संस्थाहरूसँग एक दिवसीय छलफल कार्यक्रम सम्पन्न भएको छ । पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक भवेस श्रेष्ठको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
छलफलमा उठेका मुख्य विषयहरू
कार्यक्रममा पर्यटन व्यवसायको दर्ता तथा नविकरण प्रक्रियालाई सहज बनाउनुपर्ने, भारतीय पर्यटकहरूको गाडीमा पहेलो स्टिकर टाँस गर्ने तथा चेकपोस्टलाई एकद्वार प्रणालीमा ल्याउने प्रदेश सरकारको प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्ने माग उठाइएको थियो। साथै, होटल तथा अन्य पर्यटन पूर्वाधारलाई पर्यटनमैत्री बनाउने, नाकाहरूमा प्रचार–प्रसारका होर्डिङ बोर्डहरू राख्ने, हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने जस्ता महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएका थिए।
पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले कोशी प्रदेशको नीति तथा कानुनी प्रक्रियाबारे सहजीकरण गरेका थिए । छलफलमा मेचीनगर ४ का वडाध्यक्ष तथा ग्रामिण पर्यटन अभियन्ता अर्जुन कार्की, अभियन्ता मञ्जिल सुब्बा, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठ, होटल व्यवसायी संघ झापाका महासचिव शिव पौडेल, ट्राभल व्यवसायी नेत्र कार्की, पर्यटन पत्रकार सञ्च झापाका अध्यक्ष विनोद पाण्डे, फोटोपत्रकार धर्मराज प्रसाई, ग्रामीण पर्यटन अभियन्ता अर्जुन कार्की, यातायात व्यवसायी महासंघका उपाध्यक्ष राजेन्द्र रिजाल, चरा तथा बन्यजन्तु फोटोग्राफर देवेन्द्र खरेलल, व्यसायी ध्रुब गिरी, विष्णु श्रेष्ठगायतले जिज्ञाषा र सुझाव राखेका थिए ।
पर्यटन व्यवसायीहरूका अपेक्षा
पर्यटन वर्षको अवसरमा नेपाल भित्रिने पर्यटकहरूलाई स्वागत गर्न विशेष कार्यक्रम आयोजना गर्ने, नेपाली कला, संस्कृति र संस्कारलाई प्रवद्र्धन गर्ने, तथा पर्यटन क्षेत्रलाई दिगो विकासतर्फ उन्मुख गराउने पहल गर्नुपर्ने सरोकारवालाहरूले माग राखेका छन् ।
कार्यक्रमको सञ्चालन पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरज कट्टेलले गरेका थिए । कार्यक्रममा पर्यटन वर्ष निर्देशन समिति सदस्य बाशस बराल, होटल व्यवसायी महासंघ कोशीका अध्यक्ष राजन दंगाल, नाटा कोशीका महासचिव नविन खरेल, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, होमस्टे सञ्चालन समिति कोशी प्रदेशकी अध्यक्ष लीलादेवी भट्टराई, पर्यटन कार्यालय धरानका प्रमुख भिसन राई लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्रदेश सरकारले पर्यटन वर्ष सफल बनाउन नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

