सागर गौतम
मोरङ । यतिबेला नगरको सत्तासीन राजनीतिक पार्टी नेकपा (एमाले) को दोस्रो नगर अधिवेशनको सरगर्मी बढेको छ । संगठन कमिटी संयोजक रमेश दाहालले नेतृत्व छाड्दै गर्दा आकांक्षी ४ जनाबीच यो ताज कसले लेला सर्वत्र चर्चाको विषय बनेको छ । आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुहुने चारजनामा क्रमशः प्रकाशबहादुर कार्की, सञ्जीव गिरी, बाबुराम ऐङदेन र यामनाथ गुरागाइँ हुनुहुन्छ । सहिद रत्नकुमार बान्तवाको स्मृतिमा सम्मानस्वरुप चैत्र २७ गते आयोजित यो अधिवेशनको चर्चाले एकाएक बजार चुलिएको छ ।
प्रकाशबहादुर कार्की राजनीतिक जीवनमा कहिल्यै कुनै खालको अवसर र लाभको पद नलिएको व्यक्तिमा पर्नुहुन्छ । सामान्यतः संगठन कमिटी संयोजक रमेश दाहालले आसन्न अधिवेशनबाट बिदा लिइरहँदा उपसंयोजक रहनुभएका कार्कीले पेश गर्नुभएको आफ्नो हक र दावी स्वभाविक रूपमा लिइन्छ । दाहालको उत्तराधिकारीका रूपमा अध्यक्षको दब्रिलो सम्भावनासहित कार्कीले आकांक्षा प्रस्तुत गर्नुभएको बुझिन्छ । अर्का बलिया आकांक्षी गिरी अहिलेसम्म कमिटीको कुनै पनि पदाधिकारीको भूमिकामा रहनुभएको छैन । यसकारण कार्यसम्पादनमा उहाँको अनुभवको कमी हुन सक्ने आँकलन गरिन्छ । नेता ऐङदेन र गुरागाइँ विगतमा राजनीतिक संगठन र राजकीय उपस्थितिका हिसावले पनि वडाध्यक्षको भूमिकामा रहेर नेतृत्व गरिसक्नुभएका व्यक्तित्वमा पर्नुहुन्छ ।
वस्तुतः संघीयता लागू भएसँगै साविकका पथरी गाविस, शनिश्चरे गाविस र हसन्दह गाविस मिलेर पथरी शनिश्चरे नगरपालिका बनेको हो । नगरको प्रशासनिक कामको केन्द्रका रूपमा साविक पथरी गाविसको पथरी बजार क्षेत्रलाई लिइन्छ । साविकका शनिश्चरे गाविस र हसन्दह गाविस क्षेत्रको अस्तित्व र प्रतिनिधित्व ओझेल पर्दै आएको छ ।
समावेशीय सिद्धान्तमा आधारित संघीयता कार्यान्वयनको सन्दर्भमा राजनीतिमा प्रतिनिधित्वको सुनिश्चितता कायम गर्न नसक्नु यहाँका अधिकांश मानिसको चित्तदुखाइको विषय बन्दै आएको छ । नीतिगत रूपमा नेतृत्व निर्माणमा सहभागी हुनदेखि लिएर नेतृत्वमा पुग्न पथरीबासी नागरिक नै हुनुपर्ने हो ? यो नै अन्तिम योग्यता हो ? अहिले चर्चाको विषय बनेको छ । नगरको दक्षिणवर्ती क्षेत्र साविक हसन्दह गाविस भएकै कारण हेपिएको अर्थमा उमनाथ अधिकारीको उम्मेदवारी नलिएको बुझाइ एकाएक सर्वत्र एकछत्र छाएको छ ।
संविधान निर्देशित राज्यको सिद्धान्तले राजनीतिक भूमिका सुनिश्चितताका लागि विभिन्न उपायहरू अपनाउँदै आइएको छ । जातीय, लैंगिक, वर्गीय, भौगोलिक वा अन्य सामाजिक सहअस्तित्वमा आधारित प्रतिनिधित्वको सुनिश्चितता हुने विषय प्रमुख हुन् । पथरी, शनिश्चरे र हसन्दहबीचको अन्तरसम्बन्धबाट शनिश्चरे र हसन्दह छुट्नुलाई निकै अर्थपूर्ण ढंगले लिइएको नाम नबताउने शर्तमा एकजना प्रतिनिधि भन्नुहुन्छ– यसपटक हामी पथरी बजार क्षेत्रबाहेक अन्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिला, अल्पसंख्यक, दलित, आदिवासी र जनजाति क्षेत्रबाट प्रतिनिधित्व गर्नेले आरक्षणको व्यवस्थाको माग गर्दैनौँ बरु राजनीतिक दलभित्र आफ्नो मत परिणाम देखाउछौँ र नीतिगत रूपमा अनिवार्य सहभागिता सुनिश्चित गर्न आफ्नो पहुँच विकास गर्ने छौँ ।
नीति निर्माण प्रक्रियामा अपनाइएको समावेशी व्यवस्थाले विविध समुदायका प्रतिनिधिहरूलाई संलग्न गराउने गरेको छ । समावेशी कानून र नीति विकास गरिएको छ, जसका कारण समाजको सबै समूहको हित र प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । प्रतिनिधि चयनको प्रक्रियामा वडा नं. १ बाट आकांक्षी देखिनुभएका दुई जना आकांक्षीबीच प्रतिनिधिको भागबण्डा गरिनु समावेशी सिद्धान्तको पालना नभएको उहाँको गुनासो छ । अध्यक्षका ४ जना आकांक्षी सार्वजनिक भइरहँदा नेता ऐङदेन र गिरी पक्षबीचमा मात्र भागबण्डा गरिनु कति उचित कति अनुचित अहिले सुझबुझसम्पन्न सचेत जनमतमाझ विमर्शको विषय बनेको छ ।
दक्षिणको लक्षित समुदायलाई उठाउन, राजनीतिक प्रक्रियामा सहभागी गराउन र यसनिमित्त प्रोत्साहन तुल्याउन आवश्यक मात्रामा प्रशिक्षण गर्नुपर्ने तर जानकारीसमेत हुने नगरेको तिनको आरोप छ । यसले राजनीतिक शिक्षा र जनताको बहुदलीय जनवादसम्बन्धी सचेतनाको अभियानको अन्तरवस्तुलाई ठीक ढंगले ठम्याउन र उठाउन सक्ला सोच्नुपर्ने गम्भीर विषय बनेको छ ।
पार्टीले अपनाउँदै आएको आन्तरिक लोकतन्त्र भनेको नेतृत्वको निगाह होइन, कार्यकर्ताको अभिमत हो । पूर्णतः जवाफदेहिता हो । स्थापित राजनीतिक दलहरूभित्र पनि आन्तरिक लोकतन्त्र हुन आवश्यक छ, जसले गर्दा सबै तहका सदस्यहरूलाई बराबरीको अवसर प्राप्त होस् भन्ने मान्यताबाट अघि बढेको एकजना प्रतिनिधि बताउनुहुन्छ ।
महिला तथा युवा सहभागिता सुनिश्चित गर्नु भनेको कम्युनिस्ट आन्दोलनलाई लहड होइन, बरु राजनीतिक बैचारिक अध्ययन र कम्युनिस्ट आचरणको विकाससँगै रहरको विषय बनाइनुपर्ने कार्यकर्ताको अपेक्षा रहेको भण्डारी थरिका एकजना प्रतिनिधि बताउनुहुन्छ । महिला र युवाहरूलाई नेतृत्वका अवसर दिने, उनीहरूको क्षमता विकासका लागि कार्यक्रमहरू सञ्चालन गर्ने र क्रमशः नेतृत्वको योजनाबद्ध अग्रसरता लिनुपर्ने उहाँको तर्क छ । संवैधानिक प्रावधानलाई पालना गर्ने हो । एउटा कालखण्डमा बेरुजु रहन पुग्नुभएको अनुहार समाजमा कसरी स्थापित हुन सक्ला उहाँको थप तर्क छ ।
केही समय लेखापढी गरेसँगै अहिले किराना पसल सञ्चालन गर्नु हुने वडा नम्बर ८ सोमबारे निवासी लगन, इमान र निष्ठापर्याय कार्की नगर बसोबास गर्नु हुने एमाले केन्द्रीय सदस्य युवराज बास्कोटा, प्रदेश कमिटी सदस्य र कैयौँ अग्रजलाई समेत मौका पर्दा सहन सक्नुहुन्न बरु जाइलाग्न तयार देखिनुहुन्छ । नेता कार्कीको संगठनात्मक पकड, राजनीतिक बैचारिक सुस्पष्टता, सामाजिक रूपमा बेदाग, हक्की र निडर स्वभाव नै एउटा रणकौशल नेताको रूपमा सर्वाधिक बढी चर्चामा छ ।

