मेचीनगर । मेचे समाज शिवियारी आफातले आगामी बैशाख ३ गते ‘वैशागु वथर’ पर्वमा नेपाल र भारतका सभामुखलाई एकैठाउँ राखेर भव्य कार्यक्रम गर्ने भएको छ ।
बुधबार मेचीनगर–११, धाइजन स्थित आफातकै भवन पसिरमा आयोजित पत्रकार सम्मेलनमा भाषा र संस्कृति संरक्षण गर्ने उदेश्यले ‘वैशागु वथर’ पर्व भव्य गर्न लागिएको जानकारी गराएको हो ।
मेचे समुदायलाई एकजुट गर्ने, भाषा र संस्कृतिलाई संरक्षण गर्ने उदेश्यले ‘वैशागु वथर’ पर्वमा नेपालका संघिय संसदका सभामुख देवराज घिमिरे र भारत आसाम राज्यका विधायन समितिका सभामुख विश्वजित दइमारीलाई ल्याउन मेचे समाज शिवियारी आफातका केन्द्रीय अध्यक्ष विरेन मेचेले बताए ।
सोही स्थानमा हुने ‘वैशागु वथर’ पर्वमा प्रमुख अतिथि सभामुख घिमिरे, विशिष्ट अतिथि आसाम राज्यका विधायन समितिका सभामुख दइमारी लगायत संघ, प्रदेश र स्थानीय तह तथा विभिन्न समुदायको उपस्थिति रहने छ ।
२० लाख ३० हजार खर्च लाग्ने अनुमान गरिएको पर्वमा मेचे समुदायसहित करिव ८ हजार बढीले अवलोकन गर्ने अपेक्षा रहेको समितिका केन्द्रीय सचिव महेश मेचेले बताए ।
झापाका १५ वटा पालिकामध्ये ९ वटा पालिकामा २०७८ सालको जनगणना अनुसार यो जाति लोपन्मुख तथा सिमान्तकृत समुदायमा पर्ने एउटा जाति हो । जसको पाँच हजार १९३ जना मेचे समुदायको बसोबास रहेको केन्द्रीय सदस्य अमर मेचेले जानकारी दिए ।
९ वटा पालिकामा बाहदशी, हल्दिबारी, झापा, कमल, कचनकवल गाउँपालिका तथा भद्रपुर, बिर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिकामा मेचे समुदायको बसोबास रहेको उनले बताए ।
झापाको ९ वटै पालिकामा ‘बैशागु बथर’ पर्वमा स्थानीय विदा दिनु पर्ने माग समेत गरेका छन् । केहिदिनअघि आफातका मेचीनगर अध्यक्ष देशभक्त मेचेको नेतृत्वमा गएको टोलीले मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई ‘वैशागु वथर’ पर्वमा सार्वजनिक विदा दिनु पर्ने मागसहित ज्ञापनपत्र बुझाएको थियो ।