मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रविधिमा फड्को मार्दै आइतबारबाट जीआईएस, वेब साइट र मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । खानेपानीले दियालो टेक्नोलोजीसँग सम्झौता गरेर सो सो प्रविधि संचालनमा ल्याएको हो ।
आइतबार खानेपानीको सभाहलमा आयोजित एक कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जीआईएसको नक्सालाई सार्वजनिक गरेर वेब साइटको शुभारम्भ गरे ।
उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले समयको आवश्यक्ताले प्रविधि भित्रीएको बताउँदै प्रविधि सँग सँगै हिँड्नेहरुमात्रै अव सफल हुने बताए । प्रविधिलाई पछ्याउन नचाहनेहरु अव पछि पर्छन् उनले भने (घरमा बसीबसी अव संस्थाका सबै डेटाहरु हेर्न सकिन्छ, सदस्यहरुले आफ्नो संस्थाको यथार्त विवरण घरबाटै थाहा पाउने छन् । संस्थाले आफ्ना सदस्यहरुको अवस्था बुझ्ने छ, यसले एक आपसमा विश्वासलाई थप दरिलो बनाउने छ । उनले मेचीनगरलाई पनि प्रविधि मैत्री बनाउने गरी कार्यक्रम अघि बढाएको बताए ।
कार्यक्रमको अध्यक्षता गर्दै काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष रोहत कुमार बढाथोकीले उपभोक्ताको हितलाई ध्यानमा राख्दै प्रविधिमा फड्को मारेको बताए । उनले यो प्रविधिको प्रयोगले उपभोक्ता र खानेपानी संस्थाबीचको सम्बन्धलाई पारदर्शी तथा थप विश्वश्नीय बनाउन सहयोग पुग्ने दावी गरे ।
उपभोक्ताको घर कहाँ छ, धाराको अवस्था कस्तो छ, पारिवारीक अवस्था के छ, यो सबै प्रविधिबाट थाहा हुन्छ उनले भने, आज हरेक दिन उपभोक्ताको संख्या बढ्दो क्रममा छ, खानेपानीको पाइपमा कहाँ समस्या छ, कुन घरमा जाने बाटो कुन हो, त्यो सहजै पत्तालगान सकिने भएकोले तत्काल समस्या समाधानमा यो प्रविधिले सहयोग पुग्ने उनले बताए । काँकरभिट्टा खानेपानीले हाल धारा विस्तारलाई तीव्रता दिँदै आठहजार ४ सय उपभोक्तालाई सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा दियालो टेक्नोलोजी प्रालिका बजार प्रमुख रोशन गौतमले संस्थालाई खानेपानी उत्पादन र वितरणलाई अटोमेशन सिस्टमबाट लैजान सहज होस् भनेर सम्पति व्यवस्थापन सफ्टवेयर, वेब साइट र स्मार्ट फोनको प्रयोग गरिएको जानकारी दिए । कार्यक्रममा निवर्तमान मेचीनगर प्रमुख बिमल आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।