कहिल्यै नबिर्सिने त्यो रात…
अर्जुनकुमार कार्की
जब वनहरू मासिँदै गए खेतबारी हरू रूपान्तरित हुँदै गए झापाको बाहुनडाँगीमा अँध्यारो रातमा हात्ती पस्न थाल्यो। उनीहरूको खाने आधारहरू सबै मानिसले नै नष्ट गर्दै गएपछि ऊ अन्तत मानिससँगै मिलेर हुन्छ कि जुदेर बाँच्न चाहन्छ र आफ्नो पेटको लागि जस्तोसुकै सङ्घर्ष गर्न तयार हुन्छ।
जङ्गलमा खान नपाएपछि उ मानव बस्तीतिर धान मकै सुपारी लगायत अन्य बालीनाली तहसनहस पार्न सुरु गर्यो। घर गोठहरु भत्किन थाल्यो।मान्छे मारिए, बालबालिका चिच्याएर ओडारमा लुक्न थाले, साँझैबाट पटेका ढोलढ्याङ्ग्रो कोलाहलले दीर्घ रोगी र विद्यार्थीहरू सिङ्गो समुदायमा ठूलो नकारात्मक प्रभाव पर्यो।हामीले आकाश हेरेर बसेनौं — आँसुको नदीबाट समाधान खोज्न थाल्यौ। समाधान सजिलो छैन। पीडालाई दर्शनमा रूपान्तरण गर्नु कठिन छ। तर बाहुनडाँगीले गर्यो।
आज त्यो गाउँ, जसलाई कहिले “ढाक्रेबास” भनिन्थ्यो, आज “घरबास” को पर्याय बनेको छ। जहाँ एक समय हात्तीको डरले विवाह हुँदैन थियो, आज त्यही हात्तीका लागि खेतको एक गरा ‘गणेशको प्रसाद’ भनेर छुट्याइन्छ। हात्तीले खाइ नसकेका अन्नहरूलाई प्रसाद झैं ग्रहण गरिन्छ। कोही किसान हात्तीको नाममा रोपिएको धान मन्दिरमा चढाउँछन् — यो केवल सहअस्तित्व होइन, पीडालाई शक्तिमा रूपान्तरण गर्ने यात्राको जीवन्त प्रमाण हो।
हामीले धेरै गुमायौं — घर, बाली, परिवार, भविष्य। कतिपयले काखे बच्चा गुमाए, कोही नव जोडी, किसान दाजुभाई दिदीबहिनी,कोही आमा–बुबा। २०६६ सालभन्दा अघि दिवंगत तथा घाइते परिवारहरूले कहिल्यै राहत पाएनन्, किनभने त्यो बेला कानुन थिएन। तर हामी चुप बस्न सकेनौं जनताले अनुमोदन गरिसकेपछि वडाबाटै पीडित परिवारलाई वार्षिक राहत दिन यस थालनी गरिएको छ। आँसु सुक्दासम्म पीडाहरू छटपटीरहेका थिए तर कसैको नजर पर्न सकेन। परिवार गुमाएका परिवारहरु विद्यालय जानबाट वञ्चित हुन थाले। हामीले कहिले नमेटिने ती आँसुहरु पुस्दै झिनो आर्थिक सम्बोधन सुरु गरियो। तर त्यो पर्याप्त होइन। धेरै घाइतेहरू आज पनि उपचारको अभावमा छटपटिनु भएको छ। कमल राई रामप्रसाद पराजुली उदाहरणको लागि लिन सकिन्छ।ती दिवंगत आत्माहरूप्रति म चिर शान्तिको कामना गर्दै घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना पनि अर्पण गर्दछु। द्वन्दमा मानिस मात्र होइन प्रशस्त हात्तीहरू पनि दिवंगत भए भने थुप्रै घाइते पनि अहिले सलबलाइरहेका छन्। उनीहरूसमेतको आत्माको चिर शान्तिको काम र स्वास्थ्य लाभको प्रार्थना गर्दछु।
आज बाहुनडाँगी एउटा मोडेल हो — जहाँ “तोरी मौरी घर लौरी” जस्ता कार्यक्रमले बाली प्रणाली रूपान्तरण गरिरहेको छ। चिया, बेसार, तेजपत्ता, सुपारी, मरिच, रुद्राक्ष,मह, अदुवा जस्ता हात्तीले नखाने बहुतले बालीहरूले खेतलाई सुरक्षित मात्रै बनाएका छैनन्, जीवनमा आत्मसम्मान पनि फर्काइरहेका छन्। शून्य वन क्षेत्र रहेको यस वार्ड मेचीको तिर म अहिले हरियाली विकास प्रकृति पार्क निर्माण गरेर अन्तरसीमा पर्यटनलाई विकास गर्ने अभ्यास गरिरहेका छौं।महिला युवा तथा विद्यार्थीहरूलाई सिर्जनात्मक बाटोमा अभिप्रेरित गर्दै हस्तकला ललित कला लगायत अन्य उत्पादन मार्गतिर अभिप्रेरित गरियो।। बालबालिकाले Conservation Song गाइरहेका छन्। चिया, कागती तेजपात,सुपारी, रुद्राक्ष, दुग्ध उत्पादन जस्ता विविध आयआर्जनका माध्यममा गाउँ अघि बढिरहेको छ।
नौमती बाजा समुह, हात्तीमैत्री सामुदायिक होमस्टे, श्री गणेश संगीत पाठशाला,हात्तीमैत्री किसान समूहहरू, बालबालिकालाई चित्रकला, खेलकुद, सांस्कृतिक तालिमहरू, युवाहरूलाई स्वरोजगारमूलक तालिमहरू, बृद्धबृद्धाका लागि सन्तोष एम्बुलेन्स, निशुल्क रगत, मुस्कान उपहार कार्यक्रम, र “गुन्द्री आन्दोलन” — यी सबै सहअस्तित्वको सामाजिक आधार हुन्।
सहअस्तित्वका लागि हामीले जैविक तारबार, मौसमी फेन्सिङ, फेन्सिङ छेउको बाटो मर्मत, तटबन्ध निर्माण, र Rapid Response Team को परिचालन, बीमा कार्यक्रम, र आवश्यक लजिस्टिक सपोर्टका उपायहरूलाई निरन्तरता दिएका छौं। आगामी दिनमा फेन्सिप र बाटो र सीमाको लागि तीन तहकै सरकारले बजेट व्यवस्था मिलाएको छ। त्यति मात्र नभएर दात्री संस्थाहरू समेत निकै सक्रिय र संवेदनशील ढङ्गबाट बाहुन्डागीसँग जोडिन थालेका छन्।
आज पनि हामीले धूप, घन्टी, शंख बजाउने परम्परालाई संरक्षण गरेका छौं ढुङ्गामुढा ढोलढ्याङ्ग्रो भन्दा परम्परागत शैली नै आजसम्म उपयुक्त देखिन्छ।हात्ती आउँदा मानिस घरभित्रै बस्नुपर्ने अभ्यासले मानव–हात्ती दुवैको क्षति ६७% ले घटाउने कुरा राष्ट्रिय प्रकृति संरक्षण कोषको अनुसन्धानले पुष्टि गरिसकेको छ।
यो केवल बाहुनडाँगीको कथा होइन। झापा, मोरङ, सुनसरी, सप्तरी, बर्दिया, चितवन — जुनसुकै ठाउँ जहाँ हात्तीको पाइला पुगेको छ, त्यहाँ बाहुनडाँगीको सन्देश पुग्न सक्दछ। दक्षिण एशियामा भारतमा २८,००० भन्दा बढी हात्ती छन्, नेपालमा २०० जति। तीव्र वनफडानी र जमिन अतिक्रमणले सीमा नाघेपछि, बास गाँस गुमाएका हात्तीहरू राति बस्ती पस्यो — र यसले मानवता र प्रकृति बीचको सन्तुलनमा चुनौती दियो।
संसारभर प्रयोग भएका सहअस्तित्वका अभ्यासहरूमध्ये भारतको मयूरभञ्ज, श्रीलंकाको याला र थाइल्याण्डको च्याङ्माई क्षेत्रको अनुभवले देखाउँछ — समुदायको नेतृत्व, पुनःस्थापना, दिगो जीविकाको संयोजन नै दीर्घकालीन समाधान हो। बाहुनडाँगी पनि यही मार्गमा उभिएको छ।
त्यसैले हामी भन्न चाहन्छौं — यो दस्तावेज, यो अभियान, यो यात्रा कुनै परियोजनाको कागज मात्र होइन।
“हामी अनुदान होइन, आत्म–समझदारी खोजिरहेका छौं। हामी आलोचक होइनौं — सहकार्यको आह्वान गर्छौं। यो दस्तावेज योजना होइन — पीडाबाट पलाएको परिकल्पना हो।”
राष्ट्रिय प्रकृति संरक्षण कोष इसीमोड wwf nepal उज्यालो नेपाल बर्दिया सरकारका तीनै तह लगायत अन्य प्रत्यक्ष पराेक्ष सहयोग पुर्याउने संघसंस्थाहरूबाट केही नभएका होइनन् केही भएर केही हुँदैछन् उहाँहरु सबैप्रति हार्दिक आभार प्रकट गर्दै निरन्तरताको लागि पनि आह्वान गर्न चाहन्छौं। अनुरोध गर्न चाहन्छौं।
आज हामी सबै सरोकारवालालाई बोलाइरहेका छौं — संघीय सरकार, प्रदेश, पालिका, राजनीतिक दल, NGO, INGO, अनुसन्धानकर्ता, पत्रकार, विद्यार्थी, दातृ निकाय र अन्तर्राष्ट्रिय समुदायलाई —
हामी एक्लै होइन — संगै अघि बढ्न चाहन्छौं। दोष होइन — उपायको यात्रा गरौं।
बाहुण्डाँगीले तपाईँलाई बोलाएको छ। के तपाईं सुनिरहनु भएको छ?
बहुण्डाँगीको यात्रा केवल योजनाहरूको संयोजन होइन, यो मानवीय चेतना र प्राकृतिक सहकार्यको पुनर्जागरण हो।
यस सन्दर्भमा एक पुरानो पौराणिक कथा अत्यन्तै सान्दर्भिक लाग्छ —
एकजना अन्धा र लङ्गडोको भेट हुन्छ। एकले देख्न सक्दैन, अर्काले हिँड्न। जब अन्धाले लङ्गडोलाई काँधमा राख्छ र लङ्गडोले बाटो देखाउँछ, उनीहरू दुवैको जीवन चल्छ। तर पछि लोभ, ईर्ष्या, र अहंकारको प्रवेश हुन्छ।
दुवै जनाले एक अर्कालाई आरोप आक्षेपबाट द्वन्द सिर्जना हुन्छ। मारपिट सुरु हुन्छ। यत्तिकैमा भगवानको उपस्थिति हुन्छ। भगवानले उनीहरूको झगडाको कारण सोध्छन् र तिमीहरू जे चाहन्छौ म त्यो दिन्छु भनेर प्रस्ताव राख्छन्। कहिलेकाहीँ मानवीय स्वभाव कति निच हुन्छ अन्धोले लङ्गडोको आँखा फुटाइदिने प्रस्ताव राख्छ र लङ्गडोले अन्धाको खुट्टा लंगडो बनाइदिने प्रस्ताव राख्छ।
र परिणामस्वरूप, दुवै जीवन झन् पीडादायक बन्छ। यसले उनीहरूको जीवन कठिनतिर धकेलि दियो। दुवैले आफ्नो सफलता र कष्टकर जीवनबाट माथि उठ्न चाहेनन्। परिणामस्वरूप उनीहरू जीवनको भोगाइबाट झन् दलदलमा फसे। एक आपसमा आआफ्नो अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्ने हो भने समाज साँच्चै परिवर्तन हुन्छ भन्ने लाग्छ।
आज हामीलाई सोध्नुपर्छ — के हामी मानव जाति अन्धा भएका छौं, जो भविष्य देख्दैन?
वा लङ्गडा, जो केवल डरमा लड्खडाइरहेका छौं?
यदि हामी केवल आफ्नो स्वार्थका लागि हात्तीलाई दोष दिँदैछौं, वा केवल क्रोधमा प्रतिकार गरिरहेका छौं,
त्यसले दुवैलाई विनाशतर्फ लैजान्छ।
तर बहुण्डाँगीले अर्को बाटो रोजेको छ
सहकार्य, सह–विकास, सह–अस्तित्व।
यहाँको समुदायले देखाएको दृष्टिकोणले सिकाउँछ कि
जब अन्धोले लङ्गडोको बाटो देख्न प्रयास गर्छ, र लङ्गडोले अन्धोलाई काँध दिन्छ
त्यो नै साँचो मानवता हो, त्यो नै साँचो विकास हो।
सन्देश: “जहाँ प्रकृति र संस्कृति मिल्छन् — त्यहीं पर्यटन र समृद्धि फस्टाउँछ।”
लेखक सम्पर्क:
akarkincs@gmail.com
Mechinagar–4, Bahundangi, Jhapa 9844661414

