स्वास्थ्य

शनिबार थपिए ३ सय ७८ जना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं, साउन २४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै आज देशभरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार २०६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८८८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९९ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १६ हजार ३ सय १३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।