विविध

राष्ट्रिय झन्डा जलाउँदै म्युजिक भिडियो सार्वजनिक गर्ने गायक ग्लाल्जेन दोर्जेसहित ८ जना पक्राउ

काठमाडौं, भदौं ३ । युट्युबमा नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने खालको म्युजिक भिडियो सार्वजनिक गर्ने ८ जना पक्राउ परेका छन् ।

दुई दिनअघि मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाइएको छ भने नेपालको राष्ट्रियता एवं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरू प्रयोग भएका छन् ।

पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसम्म छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् ।

गीत सार्वजनिक भएसँगै चौतर्फी रुपमा प्रतिबन्धको माग गर्दै त्यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न सामाजिक सञ्जालमा आवाज उठेका थियो।

महाशाखाले भिडियो छायाङ्कन भएको ठाउँ पत्ता लगाइसेको जानकारी गराउँदै उक्त भिडियो शेयर नगर्न आग्रह गरेको छ ।

भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पृथ्वीनारायण शाह, पूर्व राजा ज्ञानेन्द्र शाहलगायतका व्यक्तित्वहरुको तस्बिर जलाइएको छ ।

मुलुकी अपराध संहिताको दफा १५१ मा देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरेको छ । दफा १५१ मा ‘राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने’ उल्लेख गरिएको छ ।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।