
काठमाण्डौ / बहुचर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण अहिले नेपाली समय अनुसार राति ८: १५ बाट सुरु हुँदैछ । ४४ दिनसम्म चल्ने आईपिएल बैशाख २२ अर्थात मे ५ तारिक सम्पन्न हुन्छ ।
चेन्नईमा अहिले साबिकको विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलसंगै आईपीएलको नयाँ सिजनको सुरुवात हुदैछ ।
चेन्नई भारतका पुर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने छन् । बैंगलोर भारतीय कप्तान विराट कोहलीको कप्तानीमा हुनेछ । दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने आईपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्। डबल राउण्ड रोबिन लिगको आधारमा संचालन हुने लिगको शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छन् ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले भने आइतबार (भोली )पहिलो खेल खेल्नेछ । पहिलो खेलमा दिल्लीले मुम्बई ईण्डियन्ससंग खेल्नेछ ।
आईपीएलमा यस सिजन चेन्नई सुपर किङ्स, सनराईजर्स हैदरावाद,रोयल च्यालेंजर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजेस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कलकता नाइटराइडर्स र मुम्बई इन्डियन्स रहेका छन् ।

