राजनीति

‘पुलिसको डण्डाले पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ’

काठमाडौं, मंसीर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको डण्डाबाट करङको दुखाई बढेको बताएका छन् । बुधबार तनहुँको व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन स्थलबाट प्रहरीले पक्राउ गरेको थियो । 

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ’ बिहीबार पौडेलले ट्‍वीट गरेका छन् ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा  पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन् । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

पुल उदघाटनका विषयमा विवाद नेकपा र कांग्रेसबीच विवाद थियो । विवाद रहेकाले झडप हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी सागर न्यौपानेले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले पौडेललाई पुल उदघाटन गर्न नदिने भन्दै विरोध प्रदर्शन र नाराबाजी गरेका थिए । व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको उदघाटन कांग्रेस नेता पौडेलले गर्ने भनेपछि नेकपा र कांग्रेसबीच विवाद सुरु भएको थियो ।

पौडेल बुधबार दिउँसो नै रिहा भइसकेका छन् । पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेका थिए । सरकारको यो प्रवृत्ति विरुध्द देशब्यापी प्रतिरोध गरिने देउवाले उल्लेख गरेका छन् ।

देउवाले पौडेललाई तत्काल रिहा गर्न चेतावनी दिँदै अन्यथा उत्पन्‍न हुने परिस्थितिको सामना गर्न तयार रहन भनेका थिए । ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्‍न हुने परिस्थिति सामनाका लागि तयार बस्‍न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ देउवाले विज्ञप्तिमा भनेका थिए ।