मेचीनगर, माघ ९ । मेचीनगरको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगितामा आज उपाधिका लागि डुडाबारी फुटबल क्लब र शिवसताक्षी धाम फुटबल क्लबले प्रतिष्पर्धा गर्दैछन् ।
डुडाबारी फुटबल क्लबले सेमिफाईनलमा खेलमा गार्डेन फुटबल क्लब धरानलाई ५–१ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको थियो । त्यस्तै शिवसताक्षी धाम फुटबल क्लबले काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आज दुबै टिम उपाधि आफ्नो पक्षमा पार्ने रणनीतीका साथ मैदानमा प्रवेश गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेल्दै फाईनल प्रवेश गरेका यी दुई टिम बिच चर्को प्रतिष्पर्धा हुने देखिन्छ ।
प्रतियोगिताको फाईनल खेल दिनको २ः३० बजे हुने आयोजकका सल्लाहकार डिल्लिराम अधिकारीले हाम्रो खबरपाटीलाई जानकारी दिए । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका छन् ।प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि पाउने छन् ।

