
झापा, चैत २५ । भेगास सिटी इन्टरटेनमेन्टले झापाको मेचीनगर ८ स्थित जोर सिमलामा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ। ‘होटल मेची क्राउन’ नामक पाँचतारे होटलको निर्माण करिब ९० प्रतिशत सकिसकेको छ। होटल साउनदेखि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको होटलका निर्देशक बलराम सापकोटले बताए।
उनका अनुसार भारतीय सीमाबाट नजिक भएकाले सीमापारिबाट आउने पर्यटकलाई लक्ष्य गरी होटल खोल्न लागिएको हो। भारतको बागडोग्रा विमानस्थलबाट नजिक रहेको हुँदा सिक्किम, दार्जिलिङ र भुटानबाट आउने पर्यटक यहाँ आउने उनको विश्वास छ।
होटलको चारतले मुख्य भवन, नौवटा ब्लक, पाँचवटा भिल्लासहित एक सय पाँच कोठा हुनेछन्। १०४ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा पाँचवटा प्रेसिडेन्टल स्विट रुम, ३० वटा डिलक्स र बाँकी ७० वटा नर्मल डिलक्स रुम हुनेछन्। होटलमा तीनवटा रेस्टुरेन्ट, पर्याप्त मात्रामा पार्किङ, एउटा हेलिप्याड, स्विमिङ पुल, जिमहल, स्पा, साउना, पार्लरसहित सुविधा तयार हुँदै छ।
यो होटलमा पर्यटन व्यवसायी पवित्रकुमार कार्की, सापकोटा, निर्माण क्षेत्रमा छुट्टै छवि बनाएको क्षमादेवी ग्रुप र व्यवसायी सुरेशमान श्रेष्ठको लगानी छ। होटल पूर्वाञ्चलकै पहिलो पाँचतारे होटलको रूपमा सञ्चालनमा आउँदै छ।

