
काठमाण्डौं, बैशाख ०३ । मलेसियामा जारी आईसीसी यू१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
मंगलबार भएको चौंथो खेलमा नेपालले ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
शिलानगोर ट्रफ क्लबको मैदानमा नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभर १ बलमा अलआउट हुँदै ७९ समेटियो ।
ओमानका लागि अमनप्रित सिंह र जिल तन्नाले सर्वाधिक १३र१३ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रतिष जिसीले ४१ तथा भिम सार्कीले ३९ रन बनाए । अविशेक बस्नेतले १५ रन जोड्दा रित गौतम १० रनमा आउट भए ।
ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २र२ विकेट लिए ।
ओमानलाई हराएसंगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ ।
नेपालले यस अघि पहिलो खेलमा सिंगापुरलाई २१७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । नेपाल दोस्रो खेलमा भने युएईसंग डकवर्थ लेविस ९डिएल० पद्दतिको आधारमा १ रनले पराजित भएको थियो ।
अब नेपालले अन्तिम खेलमा बिहिबार कुवेतसंग खेल्नेछ ।
सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

