देबु बानियाँ
झापा । सिरिजङ्गा गाउँपालिका ताप्लेजुङले आयोजना गरेको “जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, २०७८“ सिनाम नमूना मा.वि. सिरीजङ्घा १, सिनामकी छात्रा निशाम थेबे च्याम्पियन बनेकी छिन् । नयाँ वर्ष २०७८ को अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा फाइनल चरणका उत्कृष्ट ५ लाई पछि पार्दै थेवेले प्रतियोगिताको उपाधी चुमेकी हुन् । उपाधीसँगै उनले नगद ३० हजार सहित प्रमाण पत्र पाएकी छिन् ।
यसैगरी सरस्वती मा.वि. आठराई त्रिवेणीकी छात्रा ललिता खातीले द्वितीय स्थान हासिल गरिन् । उनलाई नगद २० हजार, र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । शारदा मा.वि. पाथीभरा याङ्वरककी छात्रा रेविका तामाङले तृतीय स्थान हासिल गरिन् । उनलाई नगद १० हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

यसैगरी भानुजन मा.वि. फुङ्लिङकी छात्रा शोभा सेम्बु र सरस्वती मा.वि. फक्ताङ्लुङका छात्र दिपेश लिम्बुले सान्त्वनाको स्थान हासिल गरे । उनीहरुलाई जनही नगद ३ हजार र प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासकिय अधिकृत सन्तोष घिमिरेले बताउनु भयो ।
जिल्लाका ८ वटा स्थानीय तहभित्रका विभिन्न २७ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । पहिलो चरणबाट उत्कृष्ट ५ विद्यार्थी छनोट गर्ने गरि समग्र प्रतियोगितालाई दुई चरणमा विभक्त गरिएको थियो । जस अनुसार पहिलो चरणबाट जम्मा ५ जना विद्यार्थीहरु प्रतियोगिताको दोस्रो एवम् फाइनल चरणमा प्रवेश गरेका थिए ।
प्रतियोगिता कार्यक्रमको उद्घाटन एवम् समापन समारोह सिरीजङ्घा गाउँपालिकाका अध्यक्ष टिकाराम गुरुङको सभापतित्वमा भएको थियो । पाथीभरा याङ्वरक, आठराई त्रिवेणी र सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्षहरुको समेत उक्त कार्यक्रममा उपस्थिती रहेको थियो । प्रतियोगिताको निर्णायक मण्डलीको नेतृत्व याङवरक गाउँपालिका, पाँचथरका प्रमुख प्रशासकीय अधिकृत श्री रोहिणी आचार्यले गर्नुभएको थियो ।
नेपालको संविधानको अनुसूची ८ मा स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) को लागि विभिन्न २२ वटा अधिकार सूचीको व्यवस्था गरिएको छ। तपाँईको गाउँपालिका तथा नगरपालिकामा उक्त २२ वटा अधिकार सूचीको कार्यान्वयन गर्न आसन्न स्थानीय तहको प्रमुख/अध्यक्षको पदमा तपाँईले उम्मेद्वारी दर्ता गर्नु भएको छ। निर्वाचनको मिति नजिकिएको छ। तपाँई एक चुनावी सभामा सम्बोधन गर्न लाग्नु भएको छ। चुनावी सभामा उपस्थित जनसमुदायलाई तपाँईको गाउँ/नगरको सर्वाङ्गीण विकास गर्ने दृष्टिकोण पस्कदैं तपाँईको पक्षमा जनमत जुटाउनका लागि आफ्नो धारणा वक्तृत्वकला मार्फत प्रस्तुत गर्नुहोस्।

