शिक्षा

वैशाख मसान्तसम्म सबै बिद्यालयमा पठन पाठन बन्द गर्ने मेचीनगरको निर्णय

मेचीनगर, बैशाख ७ । मेचीनगर नगरपालिका नगरभित्रका सबै बिद्यालयहरुमा पठन पाठन बन्द गर्ने निर्णय भएको छ । आज नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले सोमबार कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सहरी क्षत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । सोहि निर्देशन अनुसार मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले मंगलबार सूचना जारी गरी पठनपाठन बन्द गर्न निर्देशन गरेका हुन् ।

शिक्षकका पेशागत संस्था, निजी विद्यालयका प्रतिनिधिहरुसँग भएको छलफलबाट मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा २०७८ वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अपनाई वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गर्न सूचनामा उल्लेख गरिएको छ ।